फोरम नेपालको बैठक राजधानीमा : पहाडी मूलका नेतामाथि खनिए मधेसी नेता

Posted on: July 29, 2017 | views: 336

काठमाडौं। संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक तीन दिनदेखि राजधानीमा चलिरहेको छ ।


बैठकमा चुनावी समिक्षा, भावी चुनावको रणनीति, संगठन सुदृढीकरण लगायतको एजेण्डामा छलफल भइरहेको छ । तर बैठकको रोचक पक्ष के छ भने पहाडी र मधेशी मूलका नेताहरुले फरक फरक धारणा राखेका छन्  ।  


पहाडी मूलका केन्द्रीय सदस्यहरुले चुनावमा गएर पार्टीले सही गरेको भनेका छन् भने मधेशतिरका केन्द्रीय सदस्यहरुले विना तयारी चुनावमा गएर गल्ती भएको धारणा राखेका छन् । यस्तै मधेसी मूलका नेताहरुले पहाडमा मत नआएको भन्दै आलोचना गर्दा पहाडी मूलका नेताहरुले भने संगठन निर्माणको आधार तयार भएको भन्दै बचाउ गरेका छन् । 

स्थानीय तहको चुनावमा फोरमलाई पहाडभन्दा मधेशमा बढी मत आएको छ । यहाँसम्म कि बैठकमा मधेशमा भएका पार्टीका पहाडी समुदायले पनि फोरम नेपाललाई मत नदिएको आरोप मधेसी मूलका केन्द्रीय सदस्यले लगाएका छन् । 

मधेश आन्दोलनबाट पार्टी स्थापना भएको फोरम नेपालले दोस्रो संविधानसभा चुनावपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेको थियो ।  आधार क्षेत्र मधेस रहेको सो एकीकृत पार्टीले पहाडमा संगठन विस्तार गरेपनि त्यसले पार्टीलाई खासै उपलब्धी नभएको टिप्पणीहरु पार्टीभित्र हुन थालेको छ । 


एकतापछि बनेको २२९ जना केन्द्रीय कार्यसमितिमध्ये ११५ जना केन्द्रीय सदस्य पहाडी समुदायका रहेका छन् । तर चुनावमा खासै मत प्राप्त नभएको गुनासो नेताहरुले बैठकमै राखेका हुन् । ्

 फोरम नेपालले आन्दोलन गर्दा पनि पहाडमा प्रभाव देखाउन नसकेको गुनासो पार्टीभित्र सुनिएको थियो । 


केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य जयराम यादवले पहाडबाट मत नआएको गुनासो गरेका थिए । स्रोतका अनुसार नेता यादवले पहाडमा संगठन छ भनेर पार्टी चुनावमा गएको भएपनि केहि परिणाम नआएको बताए ।