प्रधानमन्त्रीद्धारा प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको तयारी थाल्न आयोगलाई आग्रह

Posted on: July 27, 2017 | views: 180

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गरेर प्रतिनिधिसभा र प्रदेशसभाको  निर्वाचनको तयारी थाल्न आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । 


विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निर्वाचन आयोगका पदाधिकारी, उपप्रधान एवं परराष्ट्र मन्त्री, गृह मन्त्री र अर्थमन्त्री सहभागि बैठकमा प्रधानमन्त्रीले जनताको ‘एक एक मतको कदर हुनुपर्ने’ भन्दै प्रद्धती सुधार गर्न पनि आग्रह गर्नुभएको हो । 

सरकार माघ ७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रतिवद्ध रहेको बताउदै प्रधानमन्त्रीले सो अनुसार तयार तत्काल थाल्न पनि निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

तोकिएको समयमा चुनाव गर्ने सरकारको मुख्य उदेश्य रहेको बताउदै क्षेत्र निर्धारण आयोगले काम थालिसकेकाले र निर्वाचन सम्वन्धी दुई कानुन पनि केही दिनभित्रै पास हुने तयारीमा रहेको पनि प्रधानमन्त्रीले बताउनु भएको थियो । 

बैठकमा निर्वाचन आयोगका पदाधिकारीले विद्युतिय भोटिङ मेसिन प्रयोग गरेर प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रस्ताव गर्नुभएको थियो । त्यस विषयमा प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग परामर्श गर्न सुभाव दिनुभएको छ । 

प्रधानमन्त्रीले सरकार सकभर एकै दिन प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने तयारीमा रहेको पनि निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराउनु भएको थियो । यस विषयमा निर्वाचन आयोगका पदाधिकारीहरुले भने एकै दिन गर्न सहज नहुने तर मतपत्रलाई विद्युतिय र त्यसमा पनि स्मार्ट बनाउन सकियो भने सम्भन हुने धारणा राख्नुभएको थियो । 

प्रधानमन्त्रीले निर्वाचन खर्च घटाउनका लागि पनि सरकार एकै पटक दुवै निर्वाचन गर्नुपर्ने धारणामा रहको बताउनु भएको थियो ।