राप्रपाका केन्द्रीय समिति सदस्य भन्छन्, मन्त्रालय दिएर फकाउने सरकारमा नजाउ

Posted on: July 20, 2017 | views: 273

काठमाडौ ।  सरकारमा सहभागिताको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागीतालाई लिएर राप्रपाको जारी केन्द्रिय कार्यसमितिको बैठकमा सदस्यहरु विभाजित भएका हुन् ।
काठमाण्डौंमा जारी केन्द्रिय कार्य समितिको बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्रमाथि छलफल गर्दै सदस्यहरुले सरकारमा सहभागीताको बिषयलाई लिएर मिश्रित प्रतिक्रिया जनाएका हुन् । संसदको चौथो ठुलो शक्तिलाई वर्तमान सत्ता गठबन्धनले विश्वासमा लिन नसक्ने सरकारमा सहभागी हुन नहुने आवाज चर्किएको हो ।

सत्ता पक्ष आफुहरुलाई विश्वासमा नभई मन्त्रालय दिएर फकाउन खोजेको भन्दै यसले पार्टीको झनै खास गिर्ने भन्दै सरकारमा सहभागी हुन नहुने तर्क सदस्यहरुले राखेका छन् । स्थानीय तह निर्वाचनमा जस्तो परिणाम आएपनि संसदको चौथो ठुलो शक्ति भएकाले सम्मानजनक अवस्थामा मात्र सरकारमा सहभागि हुनुपर्ने सदस्यहरुको सुझाव छ ।

यद्यपी केही सदस्यले भने संविधान कार्यान्वयन र जनजिविकाका मुद्दा सम्बोधनका लागि सरकारमा जानुपर्ने तर्क गरेका छन् । केन्द्रिय कार्यसम्पादन समितिमा समेत शीर्ष नेताहरु विभाजित देखिएको बिषयमा केन्द्रिय सदस्यहरुले आलोचना गरेका छन् ।

बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने महामन्त्री धुव्रबहादुर प्रधानले स्थानीय निर्वाचनको समिक्षा, महामन्त्री जयन्त चन्दले सचिवालयको प्रतिवेदन तथा भावि कार्यक्रम तथा कोषाध्यक्ष उद्वव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमाथिको छलफलका क्रममा आज बोल्ने अधिकांश सदस्यले स्थानीय तह निर्वाचनको गम्भिर समीक्षा गर्दै संगठन सुदृढीकरणमा जोड दिएका छन् । केन्द्रीय सदस्य मनोनयनको बिषयमा असहमती राख्दै वरिष्ठ नेता पशुपति शमसेर राणा आजको बैठकमा समेत सहभागि हुनु भएको छैन ।