राजपा नेताहरूसँग दाहालको गुनासो- टीकापुर पनि एमालेले जित्ने!

Posted on: July 13, 2017 | views: 120

काठमाडौं । कैलालीको टीकापुरमा अघिल्लो संविधानसभा निर्वाचनमा तेस्रो भएको नेकपा एमालेले यसपालि मेयर जित्यो। मतगणना क्रममा लगातार चौथो रहँदै आएको एमालेको रोचक जितले माओवादी केन्द्रलाई कतिसम्म आश्चर्यमा पारेछ भने अध्यक्ष पुष्पकमल दाहालले राजपा नेताहरूसँग गुनासो नै गर्न भ्याए।

प्रधानमन्त्री निवास बालुवाटारमा हालै बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठकमा अध्यक्ष दाहालले ‘टीकापुरमा एमालेले कसरी जित्यो’ भनेर राजपा नेताहरूसँग प्रश्न गरेको बैठकमा सहभागी स्रोतले बतायो।

टीकापुर त्यही ठाउँ हो, जहाँ २०७२ भदौ ७ गते एसएसपीसहित सात जना प्रहरीको हत्या भएको थियो। एक जना बालक पनि मारिएका थिए। उक्त घटनामा स्थानीयको धेरै सम्पत्ति क्षति भएको र थारु समुदायका केहीलाई झुठा मुद्दा लगाएर फसाइएको भन्दै मधेसवादी दलहरूले क्षतिपूर्ति र मुद्दा फिर्ताको माग गरेका थिए।