प्रधानमन्त्री देउवालाई धक्का : प्रदेश नम्बर सातमा एमाले बन्यो पहिलो पार्टी

Posted on: July 09, 2017 | views: 630

डडेल्धुरा । प्रदेश नम्बर सातामा रहेका ८८ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार ३९ स्थानमा जित्दै नेकपा एमाले यो प्रदेशमा पहिलो पार्टी बनेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय भए संगै प्रदेश नम्बर सातमा एमाले पहिलो पार्टी भएको हो ।

पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवन थापा विजयी भएका छन् । थापा ६ हजार ७२ मत ल्याएर नगरपालिका प्रमुख विजयी भएको निर्वाचन अधिकृत टेककुमार रेग्मीले जानकारी दिए ।

थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तोयाप्रसाद शर्मा उम्मेदवार ५ हजार ५५१ मत ल्याए । नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकै शारदा बिष्ट ६ हजार ५८८ मत ल्याएर विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी भुलियाकुमारी रानाले ५ हजार २३९ मत ल्याइन् । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार वीरबहादुर थापा र उपप्रमुखका उम्मेदवार सीता विकले क्रमशः ५ हजार ५५१ र ५ हजार ३९६ मत ल्याइन् ।

८८ स्थनीयत तह मध्ये ३८ स्थानीय तहमा विजय हुँदै कांग्रेस दोस्रो पार्टी भएको छ । माओवादी केन्द्रले १० स्थानीय तहमा जितेको छ भने एक स्थानमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सुदूरपश्चिममा पहिलो दल बनेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र भएकाले पनि यो प्रदेशमा कांग्रेस बलिएको मानिएको थियो । तर स्थानीय तहको निर्वाचनमा भने यो प्रदेशमा एमाले कांग्रेस भन्दा एक तह बढी जित्दै पहिलो दल बन्न पुगेको छ ।