देउवाको गृहजिल्लामा ‘लालझण्डा’ फहराउने उमेश भट्ट को हुन ? खगराज,उमेश र देउवाको सम्बन्ध के छ ..

Posted on: July 05, 2017 | views: 1895

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले एक तहमा मात्रै जित हासिल गरेको छ । देउवाको गृहजिल्लामा माओवादी वा एमालेले जित्ने आकलन कमैको थियो । तर अमरगढी नगरपालिकामा एमालेले जित्यो भने माओवादी केन्द्रले जिल्लाको अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित्दै आफ्नो साख जोगायो ।
अजयमेरु गाउँपालिकाको अध्यक्षमा माओवादी नेता उमेशप्रसाद भट्ट ‘विकास’ निर्वाचित भए । उनले २ हजार ६ सय ९० मत पाए । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी कलावती भाँण २ हजार १ सय ७१ मत ल्याएर विजयी भइन् । ६ वटा वडा रहेको सो गाउँपालिकाका ५ वटा वडा माओवादीले नै जितेको छ ।

को हुन् त उमेशप्रसाद ?

माओवादी केन्द्रको डडेल्धुरामा साख जोगाउने भट्ट माअ‍ेवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य तथा माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्ट ‘विनोद’ का भाइ हुन् । खगराज माओवादीका चर्चित युवा नेता मात्रै होइनन् देउवालाई टक्कर दिने नेता पनि हुन । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा खगराज देउवासंग १२ सय मतले पराजित भएका थिए भने दोश्रो संविधान सभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका थिए,सुदुरपश्चिममै । यद्यपी उनी जित्ने सकेनन् । खगराज माओवादी नेता भएपनि देउवापछिको सम्भावित नेताका रुपमा खगराजलाई लिन्छन् डडेल्धुरावासी ।
विद्यार्थीबाट राजनीति सुरु गरेका उमेश भट्ट अहिले पनि सक्रिय राजनीतिमा छन् । उनी पत्रकार पनि हुन् । भट्ट नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका सदस्य हुन् । साथै माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाको सल्हाकार समिति संयोजक समेत हुन् ।

पहिलो संविधान सभाको चुनावमा ०६४ सालमा उनका दाजु खगराज भट्टले कांग्रेस नेता शेरबहादुर देउवालाई कडा टक्कर दिएका थिए ।

जितिसकेपछि प्रतिक्रिया दिँदै भट्टले जनयुद्धकालमा जस्तै साथ, सहयोग र समर्थन डडेल्धुराको अजयमेरु गाउँपालिकाका मतदाताबाट पाएको बताए । उनले चुनावको बेला आफूले गरेका बाचाहरु पूरा गर्ने प्रतिबद्धता जनाए ।

माओवादी केन्द्र समृद्धि र विकासको नारा सहित चुनावी अभियानमा होमिएको थियो । अजयमेरु गाउँपालिकामा ‘माओवादीको नीति, माओवादी नेतृत्वः समृद्ध अजयमेरु गाउँपालिकाका लागि विकासप्रेमी व्यक्तित्व’ भन्ने मुख्य चुनावी नारा बनाइएको थियो ।

भट्टले आफ्नो जितसँगै माओवादीका एजेण्डाहरु स्थापित भएको दाबी पनि गरे ।

‘माओवादी केन्द्रले बोकेका एजेण्डाहरु लिएर जनताको माझ गएँ, अनि हाम्रो जित भयो’, उनले जसरी हामीलाई जनताले जनयुद्धको बेला सहयोग गरेका थिए, त्यसरी नै स्थानीय चुनावमा पनि माया गरेको बताए । चुनावमा गरेका सबै बाचाहरु पाँच वर्षभित्र पूरा गर्ने उनको जिकिर छ ।

अजयमेरु गाउँपालिकामा खानेपानी, सिंचाइ, विद्यालय, स्वास्थ्य चौकी, विद्युतीकरण र रोजगारी मुख्य समस्या छन् । यी सबै समस्या समाधान गर्न जनताले आफूलाई जिताएको भट्टको निष्कर्ष छ ।