विकास बजेट खर्च नहुँदा विकासमा फड्को मार्न सकिएनः प्रधानमन्त्री

Posted on: July 03, 2017 | views: 133

कैलाली ।

प्रधानमन्त्री शेर बहादुर देउवाले विनियोजित सबै विकास बजेट खर्च हुन नसक्दा मुलुकले सोचेअनुरुप आर्थिक समृद्धि र विकासको क्षेत्रमा फड्को मार्न नसकेको बताउनु भएको छ ।


धनगढीमा आज प्रदेश नम्बर ७ को सामाजिक तथा आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारी गोष्ठीमा प्रधानमन्त्री देउवाले अब समयमै विकास बजेट खर्च हुने गरी कार्यायोजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।  


उहाँले सात नम्बर प्रदेशलाई राष्ट्यि विकासको मुलधारमा जोड्नका लागि सरकारले सुदूरपश्चिम विकास आयोग गठन गरेर काम अघि बढाएको बताउनु भयो ।


प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भइसकेको अवस्थामा अब सरकार निर्धारित समयभित्रै केन्द्र र प्रदेशको निर्वाचनतर्फ केन्द्रित रहेको बताउनु भयो ।


दुइ दिनसम्म चल्ने गोष्ठीमा सामाजिक तथा आर्थिक क्षेत्रका विज्ञ लगायतको सहभागिता रहेको छ ।


गुणस्तरीय शिक्षाका लागि सबै लाग्नुपर्छः प्रधानमन्त्री देउवा


सुर्खेत ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक तथा गुणस्तरीय शिक्षाका लागि सबै पक्ष लाग्नुपर्ने बताउनु भएको छ । 


मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको वीरेन्द्रनगरमा प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत रहनुभएका देउवाले विश्वविद्यालयले आफूसँग प्राप्त श्रोत र साधनको अधिकतम उपयोग गर्दै सक्षम जनशक्ति निर्माणका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 


कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिंग, धर्म र क्षेत्रको पहुँचमा पु‍र्याउनु महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । 


मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालय शिक्षालाई प्रविधिमैत्री शिक्षाको रुपमा विकास गर्न लागिपरेको बताउनु भयो ।