३५ मध्ये २० जिल्लाका सबै स्थानीय तहको मतगणना सम्पन्न,७ नम्बरका ७ पहाडि जिल्लामा गणना सकियो ..

Posted on: July 03, 2017 | views: 243


१९ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लामध्ये अधिकांश पहाडी जिल्लाका स्थानीय तहको मतणना सकिएको छ । सोमबार अपराह्न अछामको साँफेबगर नगरपालिकामा एमालेले जितेसँगै ७ नम्बर प्रदेशका सबै पहाडी जिल्लाको मतणना सकिएको छ ।


अहिलेसम्म मतगणना सकिएका जिल्लामा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु छन् । त्यस्तै, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुममा पनि मतगणना सकिएको छ । अछाम, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ  र बाजुराको पनि सबै स्थानीय तहको मतगणना सकिएको छ ।


७ नम्बरका ७ जिल्लामा गणना सकियो


डोटीका ९ मध्ये ५ स्थानीय तहमा एमाले, ३ मा कांग्रेस र १ स्थानमा माओवादीले जितेका छन् । त्यस्तै, बझाङका १२ स्थानीय तहमध्ये एमालेले ८ र कांग्रेसले ४ तह बाँडेका छन् ।


बाजुराका ९ मध्ये कांग्रेसले ६ र एमालेले ३ स्थानीय तह जितेका छन् । अछामका १० स्थानीय तहमध्ये कांग्रेसले ५, एमालेले ३ र माओवादीले २ स्थानीय तह जितेका छन् । डडेलधुरामा ७ मध्ये कांग्रेसले ४, एमालेले २ र माओवादीले एक स्थानीय तह जितेका छन् ।


दार्चुलामा कांग्रेसले ५, एमालेले ३ र माओवादीले एक स्थानीय तह जितेका छन् भने वैतडीमा कांग्रेसले ६, एमालेले ३ र माओवादीले १ स्थानीय तह जितेका छन् ।


सुदूरपश्चिमका पहाडी जिल्लाका ६६ स्थानीय तहमध्ये कांग्रेसले ठिक आधा अर्थात ३३ तह जितेको छ भने एमालेले २७ ठाउँमा जितेको छ । माओवादी केन्द्रले पहाडका जिल्लामा ६ स्थानीय तह जितेको छ ।


समग्रमा पश्चिम पहाडमा कांग्रेसलाई दार्चुला, बैतडी, बाजुरा र अछामले राम्रो नतिजा दिएका छन् भने डोटीले निराश बनाएको छ । एमालेलाई बझाङ र डोटीले राम्रा नतिजा दिए पनि अछाम, बाजुरा र दार्चुलामा सोचेभन्दा कम नतिजा आएको छ ।


अब ७ नम्बर प्रदेशमा कसैको पनि बहुमत नहुने निश्चित देखिएको छ । कैलाली र कन्चनपुरले कांग्रेस वा एमालेमध्ये को ठूलो दल बन्ने निर्धारण गर्नेछन् ।


५ नम्बरमा धेरै बाँकी


५ नम्बर प्रदेशका प्यूठान बाहेकका पहाडी जिल्लाको मतगणना सकिएको छ । जसमध्ये एमालेले गुल्मीमा १२ मा ७ स्थानीय तह जितेको छ । कांग्रेसले ४ र माओवादीले एक स्थानीय तह जितेका छन् ।


पाल्पामा १० मध्ये एमालेले ६ स्थानीय तह जितेको छ भने कांग्रेसले चार तहमा जित हासिल गरेको छ । अर्घाखाँचीमा कांग्रेसले ४,एमालेले एक र माओवादीले एक स्थानीय तह जितेका छन् । रोल्पामा १० स्थानीय तहमध्ये माओवादीले ७,एमालेले २ र कांग्रेसले एक तह जितेका छन् भने रुकुमा तीन स्थानीय तह माओवादीले जितेको छ ।


समग्रमा मतगणना सकिएका ५ पहाडी जिल्लामध्ये एमालेले १६ स्थानीय तह जितेको छ कांग्रेसले मतगणना सकिएका पहाडी जिल्लामा १३ स्थान जितेको छ । माओवादीले मतगणना सकिएका ५ नम्बरमा पहाडी जिल्लाबाट १२ स्थान जितेको छ ।


१ नम्बरमा यस्तो छ


एक नम्बर प्रदेशका ओखलढुंगा, उदयपुर र इलाम बाहेक अन्य सबै पहाडी जिल्लाको मतगणना सकिएको छ । ताप्लेजुङका ९ मध्ये एमालेले ६ र कांग्रेसले ३ स्थानीय तह जितेका छन् ।


पाँचथरका ८ तहमध्ये कांग्रेसले चार,एमालेले ३ र माओवादीले एक स्थान जितेका छन् । संखुवासभामा कांग्रेस र एमालेले पाँच पाँच स्थान जितेका छन् भने धनकुटाका सातै स्थानीय तह एमालेले जितेको छ ।


तेह्रथुमका ६ मध्ये पाँच एमाले र एक स्थानीय तह कांग्रेसले जितेको छ भने खोटाङमा एमाले र कांग्रेसले पाँच पाँच स्थानीय तह जितेका छन् । भोजपुरमा एमाले र कांग्रेसले ४/४ र माओवादीले १ तह जित्दा सोलुखुम्बुमा एमालेले चार, माओवादीले ३ र कांग्रेसले १ तह जितेका छन् ।


समग्रमा मतगणना सकिएका जिल्लामा एमालेले ३९, कांग्रेसले २३ र माओवादीले ५ स्थानीय तह जितेको छ ।