नेपाल एकचीन नीतिबाट कहिल्यै पछि हट्दैन-प्रधानमन्त्री ओली

Posted on: May 01, 2016 | views: 143

१० चैत, बेइजिङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दैआएको बताएका छन् ।

चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सम्बन्ध ‘पञ्चशील’ सिद्धान्तमा आधारित रहेको उल्लेख बताए ।

साता व्यापी औपचारिक चीन भ्रमणका क्रममा रहेका प्रधानमन्त्रीले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट दुई मुलुकको स्थिर मित्रता निर्देशित रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमिकतालाई जनगणतन्त्र चीनले सम्मान दर्शाउँदै आएको भन्दै त्यसको प्रशंसा गरे ।
नेपालको भौतिक पूर्वाधार निर्माणका परियोजनाहरुका लागि चीनबाट प्राप्त उदार सहायताले नेपालको विकास प्रयासलाई सघाएको प्रधानमन्त्रीको भनाई छ ।
उनले चिनिया कम्पनीहरुको लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगमा उनीहरुको गतिशील संलग्नताले नेपालको विकासलाई गति प्रदान गरेको भन्दै आर्थिक सहयोगलाई थप उचाईमा लैजाउनु पर्ने बताए ।

औद्योगिक आधारलाई फराकिलो पार्न र कृषिलाई आधुनिकीकरण गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले उद्योगलाई इन्धनका रुपमा आवश्यक पर्ने ऊर्जा उत्पादन गर्न र जलस्रोतको अधिकतम उपयोग गर्न आफूहरु कटिबद्ध रहेको बताए ।
लगानीका लागि नेपाली बजार खुला रहेको बताउँदै प्रधानमन्त्रीले भूबनोटका कारण सिर्जित अवरोधलाई वन बेल्ट वन रोड अभियानले सहज पार्ने बिस्वास व्यक्त गरे ।

सन् २०१५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हीरक जयन्ती मनाइएको स्मरण गर्दै उनले विगतका ती मित्रतापूर्ण वर्ष र दशकहरुमा सँगै मिलेर अवसरहरु पहिल्याएको, साझा आकाङ्क्षालाई मूर्त रुप दिन प्रतिबद्धता व्यक्त गरेको र खाँचो परेका बेला सहयोग आदानप्रदान गरेको स्मरण गरे ।

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार सांघाई कोअपरेशन अर्गनाइजेशन,  SCO को डायलग पार्टनरमा नेपाल सदस्य भएको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

क्षेत्रिय विकासको अवधारणामा स्थापित संगठनको कार्यालयमा नेपालले संगठनको डायलग पार्टनर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर बैरागी र क्ऋइ को तर्फबाट महासचिवले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल पनि क्ऋइ को डायलग पार्टनर बन्न पाएकोमा खुशी व्यक्त गर्दै यसबाट नेपालको विकासमा सहयोग हुने अपेक्षा रहेको बिचार राखे ।