प्रचण्डले भने -'काँग्रेस एमाले हात्ती हो भने माओवादी माउते'

Posted on: June 25, 2017 | views: 119

खोटाङ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमाले हात्ती भएको भन्दै माओवादी केन्द्र माउतेको भूमिकामा रहेको बताएका छन् ।


आइतबार दिउँसो खोटाङको सिम्पानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले भने-‘संविधान बनाउने बेला मैले नै सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री भनेर घोषणा गरेपछि संविधान बन्यो । स्थानीय तहको निर्धारण र स्थानीय तहको निर्वाचन घोषणामा पनि माओवादीकै निर्णायक भूमिका रह्यो । हेर्दा हात्ती माउतेभन्दा ठूलो र बलवान् पनि देखिन्छ । तर, हात्तीलाई माउतेले तह लगाउँछ । अहिले कांग्रेस र एमाले हात्तीको भूमिका छन्, माओवादीले माउतेको भूमिकामा उनीलाई गणतन्त्र, संघीयता, स्थानीय तह र परिवर्तनको बाटोमा हिडाइरहेको छ ।’


केपी ओली सरकारमा सहभागी भएर ओली सरकार ढाल्दै काँग्रेससँग मिलेर आफु प्रधानमन्त्री बनेका दाहालले सभामा भने माओवादी केन्द्र सत्ताका लागि लुछाचुडी नगर्ने पार्टी हो ।


दाहालले भने-'कांग्रेस–एमालेलाई देश र जनताको हितभन्दा सत्ताको लुछाचुडी नै राम्रो लाग्छ । उनीहरु सहमति गर्छन् । तर, पालना गर्दैनन् । एउटाले अर्कालाई धोका दिनु, छलछाम गर्नु र सत्ताका लागि देशलाई नै बन्धक बनाउनुलाई राजनीति ठान्छन् । तर, माओवादी त्यस्तो गर्न सक्दैन । बेइमानी माओवादीको चरित्र र संस्कारभित्र पर्दैन, माओवादी इमान र निष्ठाको राजनीति गर्छ ।’


सभामा माओवादी केन्द्र खोटेहाङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजनप्रसाद ढकाल र उपमेयरकी उम्मेदवार सुशील बान्तवा राईले गाउँपालिकाको विकासबारे आफ्नो प्रतिवद्धता राखेका थिए ।


सिम्पानीको सभापछि दाहालले दिक्तेलमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । सभामा बोल्दै दाहालले भने ‘जन्म कालदेखि नै कांग्रेस गणतन्त्रवादी पार्टी होइन, उ राजतन्त्रकै पक्षमा थियो । १२ बुंदे समझदारीका बेला मैले गीरिजाबाबूलाई भनेको थिए, हामीलाई गणतन्त्रभन्दा तलको सम्झौता मान्य छैन । गीरिजाबाबूले जाने त गणतन्त्रमै हो । तर, मैले पार्टीलाई मनाउन समय लाग्छ भनेको कुरा अहिले पनि स्मरण हुन्छ । माओवादी र सडकको जनलहरले मात्रै कांग्रेस गणतन्त्रमा आएको हो । एमाले त गणतन्त्रलाई बयलगाडा चढेर अमेरिका जानुजस्तै भन्थ्यो । एमाले त गणतन्त्र विरोधी पार्टी नै हो ।’


सभामा माओवादी नेता टंक राई, विश्लेषक हरि रोका, रुपाकोट मझुवागढी नगरपालिकाका मेयरका उम्मेदवार दुर्गाजयन्ती राई लगायतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।