राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने,१४ गतेपछि नयाँ संघर्ष

Posted on: June 25, 2017 | views: 101

काठमाडौं,असार ११ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ।

राजपासँगको वार्तामा सरकारले दोस्रो चरणको निर्बाचन अघि थरुहट क्षेत्रमा आफ्ना कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता र कैदी बन्दीहरुलाई रिहा गर्ने आश्वासन दिएको थियो। तर निर्वाचन नजिकिदैं जाँदासमेत मुद्दा फिर्ता नभएको र बन्दीहरुको रिहासमेत नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको राजपाका सहमहामन्त्री राकेश मिश्रले बताए।

राजपाका प्रवक्ता कृष्णा सिंहले असार १४ गते पछि सरकारबाट समर्थन फिर्ता हुने बताएको खबर नेपाल समाचारपत्रले छापेको छ। उनले भने, ‘वर्तमान सरकारले एकापट्टि सहमति पनि गरेको छ अर्कोपट्टी विरोधसभामा गोली पनि चलाएको छ । त्यसकारण अहिलेको सरकारलाई समर्थन दिइराख्नु औचित्य छैन्।'