खोटाङमा बागी सहित २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

Posted on: June 19, 2017 | views: 68

खोटाङ ।

स्थानीय तहको निर्वाचनका लागि खोटाङमा २० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नगरपालिकाको मेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा दर्जनौं स्वतन्त्र उम्मेदवारी परेको हो । असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि १ हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । स्वतन्त्र उम्मेदवार दर्ता गर्नेमा अधिकांश पार्टीबाट असन्तुष्ट बनेका नेता तथा कार्यकर्ता छन् । पार्टीसँग असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै अधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी दिएका हुन् । 

जिल्लाको दुई नगरपालिका, आठ गाउँपालिकाको ६९ वडामा चयन हुने ४१५ जना जनप्रतिनिधिका लागि १ हजार ५६७ जनाको मनोनयन दर्ता भएको हो । रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा झमप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।

आचार्यले नेकपा 'क्रान्तिकारी माओवादी'को भातृ संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा मेयरमा भोजराज बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बस्नेतले पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकैतर्फबाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

केपीलासगढी गाउँपालिका प्रमुखमा हरिचन्द्र राई र दिप्रुङ गाउँपालिकाको प्रमुखमा तीर्थ राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा रुद्रप्रसाद रेग्मी र उपप्रमुखमा सरिता राईको मनोनयन दर्ता भएको छ । लामीडाँडा गाउँपालिकाको उपप्रमुखमा रमेश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । 

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा नन्दप्रसाद घिमिरे, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडाध्यक्षमा उद्धव राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अध्यक्षमा ढाकप्रसाद लुइटेल र भीमप्रसाद लुइटेल, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडा सदस्यमा अञ्चलकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । लुईटेलद्धय दाजुभाई हुन् । हलेसी तुवाचुङ नगरपालिका–७ को वडाध्यक्षमा थामबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा राजकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–७ को वडा सदस्यमा रमेश बस्नेतको उम्मेदवारी दिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार केपीलासगढी गाउँपालिका–१ फेदीको वडाध्यक्षमा देवान राई र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको सदस्यमा भीमबहादुर तामाङ, साकेला गाउँपालिका–४ मात्तिमको वडाध्यक्षमा रामकृष्ण खड्का, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको वडाध्यक्षमा युवराज गुरुङ र जन्तेढुंगा गाउँपालिका–२ बोपुङको वडाध्यक्षमा दिलबहादुर राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउने अधिकाँश एमालेका छन् ।