दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने निर्णय, मनोनयन २ दिन सर्यो

Posted on: June 15, 2017 | views: 162

काठमाडौं ।

सरकारले  २ नम्बर प्रदेशको स्थानीय निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको छ । 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले २ नम्बर प्रदेशमा मात्र असोज २ गते निर्वाचन गर्ने निर्णय गरेको हो । 


बैठकले असार १४ गते हुने प्रदेश नम्बर १, ५ र ७ को उम्मेदवारी मनोनयन गर्ने निर्वाचन आयोगले तोकेको मिति असार २ गते रहेकोमा २ दिन सारी यही असार ४ गते तोक्न निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बताउनु भयो । 


यस अघि प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग दोश्रो चरणको स्थानीय निर्वाचनका बारेमा परामर्श गर्नुभएको थियो । 


छलफलपछि आयोगका प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले मनोनयनको मिति २ दिन पछि सार्ने विषयमा आयोग सकारात्मक रहेको सञ्चारकर्मीहरुलाई बताउनु भएको थियो । 


आजै सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच प्रदेश नम्बर २ को निर्वाचन तेश्रो चरणमा गर्ने विषयमा छलफल भएको थियो । 


यसअघि  सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले दुुई नम्बर प्रदेशको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए ।


काँग्रेस नेता विमलेन्द्र निधिले चुनावमा सबैलाई समेट्ने गरी अघि बढ्ने विषयमा सहमति भएको बताए ।


बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बैठकमा सत्तापक्षले २ नम्बर प्रदेशको निर्वाचन सार्ने र असार १४ गतेको निर्वाचनका लागि भोलि हुने उमेदवारी मनोनयन पनि केही दिन सार्न प्रस्ताव गरिएको बताइन् ।


राष्ट्रिय जनता पार्टी नेपालका नेता शरदसिंह भण्डारीले आफुहरुको माग सम्बोधन गरेर मात्र चुनाव गर्न सरकारलाई भनेको र त्यस सम्बन्धमा सरकारको औपचारिक धारणा आएपछि मात्रै प्रतिक्रिया दिने बताएका थिए ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेता महेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए ।


उमेदवारी मनोनयन २ दिनपछि 


निर्वाचन आयोगले दोश्रो चरणमा यही असार १४ गते निर्वाचन हुने प्रदेश नं १, ५ र ७ मा मनोनय दर्ता गर्ने मिति दुई दिन पर सारेको छ ।


आयोगले यसअघि भोलि असार २ गतेका लागि रहेको मनोनय दर्ता गर्ने मिति दुई दिन पर असार ४ गतेका लागि सारेको हो ।