मतदाता फकाउन थरिथरि घोषणाः सित्तैमा पानी, बिजुलीदेखि तलब नलिनेसम्म

Posted on: June 14, 2017 | views: 163

नेपालगन्ज, जेठ ३१ - मतदाता फकाउन उम्मेदवारहरूले थरिथरिका घोषणा गरिहेका छन् । विकासे आयोजनादेखि आफूहरूले तलबभत्ता नलिने, निःशुल्क पानी, बिजुलीजस्ता महत्वकांक्षी घोषणा गर्न उम्मेदवारहरूको होड नै चलेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयरका लागि कांग्रेसका उम्मेदवार डा. सुरेशकुमार कनोडियाले आफू मेयर भएपछि कुनै पनि सरकारी तलबभत्ता नलिने घोषणा गरेका छन्। उनले मेयर पदका लागि सरकारले दिने तलब भत्तालाई सामाजिक सेवामा लगाउने घोषणा गरे। ‘मैले तलबभत्ताका लागि यो पद चाहेको होइन र मलाई त्यो आवश्यक पनि छैन’, उनले भने, ‘नेपालगन्जको विकास र समृद्धिका लागि मेरो उम्मेदवारी हो, पैसा कमाउन होइन।’


उनले आफूले पाउने तलबभत्ता विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति दिने बताए। भाषण र कुराभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाउँदै उनले भने, ‘समाज, यो नगर र यहाँका जनताको समृद्धिका लागि हामीले काम गर्ने हो, म भाषण मात्रै होइन काम गरेर देखाउने मान्छे हुँ।’

अहिले नेपालगन्ज मेडिकल कलेज सञ्चालन गरिरहेका कनोडिया कांग्रेस बाँकेका सल्लाहकार पनि हुन्। सरकारी जागिर छोडी व्यवसायमा लागेर उनले जिल्लाको स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेका छन्। नेपालगन्ज मेडिकल कलेज देशभर चर्चित छ।


यसअघि २०५४ सालमा एमालेबाट लडेर नेपालगन्जको मेयर भएका डा. धवल शमशेर राणा फेरि पनि मेयरका लागि चुनावी मैदानमा छन्। यसपटक उनी राप्रपाबाट चुनाब लड्दै छन्। राप्रपाका महामन्त्री डा. राणाले यसअघि पनि मेयर हुँदा तलबभत्ता लिएका थिएनन्। त्यो बेला उनले सरकारी तलबभत्ताले ठाउँठाउँमा प्रतीक्षालय र विद्यालय भवन बनाएका थिए।


यसपालि पनि उनले तलबभत्ता नलिने घोषणा गरेका छन्। पाँच वर्षका लागि आफूले फेरि पनि नेपालगन्जवासीको सेवा गर्न खोजेको भन्दै उनले सेवा गरेबापत पैसा नलिने घोषणा गरेका हुन्। ‘सेवा गरेबापत मलाई तलबभत्ता चाहिँदैन’, उनले भने, ‘म मेयर भएँ भने सरकारले दिने तलबभत्ता सामाजिक काममा खर्च गर्नेछु।’


सित्तैमा खानेपानी र बिजुली

बाँकेकै कोहलपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिनुभएका कांग्रेसका भानुभक्त भट्टराईले कोहलपुरवासीसँग निकै महत्वकांक्षी सपना साटेका छन्। आफू मेयर भए कोहलपुरवासीका लागि खानेपानी र बिजुली निःशुल्क दिने उनको योजना छ।

त्यस्तै झुपडीरहित कोहलपुर उनको अर्का योजना हो । गरिबीका रेखामुनि रहेका नगरवासीको पहिचान गरी उनीहरूका झुपडीलाई पक्की घरमा बदल्ने उनको योजना छ । ‘त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समन्वय गर्नेछौं र झुपडीरहित कोहलपुर बनाउनेछौं’, उनले भने, ‘यहाँका मुक्तकमैया, बाढीपीडित कोही पनि अब झुपडीमा बस्नु पर्दैन, सबैका घरहरू पक्की हुनेछन्।’


चुनाव नलड्ने हल्ला फैलिएपछि

दुई तीन दिनदेखि नेपालगन्जमा एउटा सनसनी फैलियो, ‘धवल शमशेर चुनाव छोड्दैछन्, उनी चुनाव नलड्ने रे।’ साराले फोन गरेर उनलाई हैरानै बनाए ‘किन र ? के भयो? चुनाव किन नलड्ने? उम्मेदवारी फिर्ता लिनुभएको हो र ? सबैलाई एउटै जवाफ दिँदैमा हैरान भए, ‘होइन, छोडेको छैन, प्रचारप्रसार तीव्र भइरहेको छ त। ’


त्यस्ता सोधाइको हैरानी कम गर्न उनले मंगलबार पत्रकार सम्मेलन नै गरेर भने, ‘म किन चुनावबाट भाग्ने? के भएको छ र? , कसैले बदनियतपूवर्क मेराबारे नराम्रो हल्ला फिँजाइदियो।’ आफ्नो चुनावी माहोल बिगार्न कसैले यस्तो हल्ला फैलाइदिएको उनको दाबी थियो । ‘मैले जिते पनि, हारे पनि सेवा गर्ने नेपालगन्जवासीको हो, चुनावमा हार जित त हुन्छ नै’, उनले भने, ‘नेपालगन्जवासीले मलाई फेरि एकपटक सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने मलाई पूरै विश्वास छ, त्यही विश्वास नै चुनाव जित्ने आधार पनि हो।’


उम्मेदवारको गाडी तोडफोड

आमहड्ताल भन्दै मंगलबार बिहान एकाएक सडकमा निस्किएका कार्यकर्ताहरू नेपालगन्ज बजारमा अराजक रूपमा देखिए । उनीहरूले उम्मेदवार चढेको गाडी ढुंगाले हानेर तोडफोड गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उमेदवार डा. सुरेशकुमार कनोडिया चढ्ने बा १४ च १३८७ नम्बरको गाडी नेपालगन्जको त्रिभुवन चोकमा उनीहरूले फोडेका हुन्। उम्मेदवारलाई घरदैलोका लागि छोडेर सम्पर्क कार्यालय जान लागेको गाडीमा उनीहरूले ढुंगा हानेका हुन् । तोडफोडको आरोपमा प्रहरीले राजपाका कार्यकर्ता ललित रौनियारलाई नियन्त्रणमा लिएको छ। अन्नपूणै पोष्टमा गजेन्द्र बोहोराले यो खबर लेखेका छन्।