एमालेको चुनावी कार्यक्रम राजपाले विथोल्यो

Posted on: June 12, 2017 | views: 313

राजविराज ।

एमालेको चुनाव कार्यक्रम राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विथोलेका छन् ।

सप्तरीको राजविराजस्थित साह धर्मशालामा राखिएको नेकपा एमालेको कार्यक्रम राजपा कार्यकर्ताले विथोलेका हुन् । उनीहरुले एमालेको प्रचार सामग्री समेत जलाइ दिएका छन् ।

राजपा कार्यकर्ता एमालेको कार्यक्रम भइरहेको धर्मशालामा प्रवेश गरी एक्कसी तोडफोडमा उत्रिएका थिए । एमालेले चुनावी प्रचारका लागि राखेको झण्डा, पर्चा–पम्प्लेट तथा निर्वाचन चिन्हअंकित टिसर्टहरुसमेत जलाइदिएका छन् ।

नेकपा एमालेले राजपाले गरेको आक्रमणको निन्दा गर्दै दोषीमाथि आवश्यक कारवाहीको माग गरेको छ ।

घटनाको भत्सर्ना गर्दै एमालेले प्रशासनलाई जानकारी दिएर गरिएको कार्यक्रममा सुरक्षा निकायको अनुपस्थितिले आश्चर्यमा पारेको जनाएको छ ।

निर्वाचनको वातावरण बिगार्न खोज्नेहरुप्रति सचेत रहन र आफ्ना कार्यकर्ताहरुलाई संयम रहन आग्रह गर्दै एमाले नगर कमिटीका अध्यक्ष निरन्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भत्सर्ना गरेका छन् ।

घटना लगत्तै प्रहरी टोली पुगेका कारण स्थिति नियन्त्रण बाहिर जान नपाएको बताइएको छ । प्रहरी टोलीले झडप हुनबाट रोकेपछि थप क्षति भने हुन पाएन ।