तीनमहिने छोरी काखमा च्यापेर भोट माग्दै घर घर

Posted on: June 11, 2017 | views: 272

जेठ महिनाको चर्को घाम । मध्याह्नको उराठलाग्दो गर्मी ।  एमालेबाट सुर्नया गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार लीला विष्टलाई घाम र गर्मीको कुनै पर्वाह छैन । उनी बिहान होस् या मध्याह्न एक महिनादेखि हरेक मतदाताको घरमा पुगिरहेकी छिन् । नेता–कार्यकर्तासँगै मतदाताको घरघर पुगिरहेकी विष्ट अरू उम्मेदवारभन्दा अलि फरक पनि छिन् । अन्य उम्मेदवारको जस्तै उनको हातमा झन्डा र प्रचार सामग्री मात्रै छैनन् । उनी तीनमहिने छोरी पनि सँगै बोकेर भोट मागिरहेकी छिन् । ‘उम्मेदवारी घोषणा गर्दा छोरी दुई महिनाकी मात्रै थिई, एक महिना यसैगरी बितिसक्यो,’ विष्टले भनिन् । 


पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाउँ सुर्नया–२ सिउँडेबाट उम्मेदवारी दिएकी लीला जित्ने दाबी गर्छिन् । उनले दशकौँदेखि गाउँका महिलाले भोग्दै आएका समस्या निराकरणका लागि पनि आफूले जित्नैपर्ने बताइन् । उनले भनिन्, ‘सामाजिक कुसंस्कार, अशिक्षा र गरिबीका कारण महिलामाथि हुने थिचोमिचो रोक्न मेरो उम्मेदवारी हो ।’

छोरी तीन महिनाकी भए पनि घरपरिवार र पार्टीको सहयोगका कारण प्रचारप्रसारमा खटिन सहज भएको उनी बताउँछिन् । घरका सबै सदस्यको सहयोगले नै उम्मेदवारी सम्भव भएको उनले बताइन् । ‘प्रचार–प्रसारमा लाग्ने सम्पूर्ण खर्च व्यवस्थापनदेखि छोरीको रेखदेखमा श्रीमान् र परिवारको सहयोग पाएकी छु,’ उनले भनिन् ।

तीनमहिने दुधे बच्चा साथमा हुँदा प्रचारप्रसारमा समस्या हुन्छ कि भन्ने चिन्ता भए पनि पार्टीले उनको छवि, क्षमता र जनताको विश्वास जितेकाले उम्मेदवार बनाएको एमाले सुर्नया गाउँपालिका प्रचारप्रसार विभाग प्रमुख अनन्त विष्टले बताए । सामान्य गरिब किसान परिवारकी लीलाले तीनमहिने छोरीको स्वास्थ्यमा कुनै असर नपर्ने गरी प्रचार–प्रसारमा हिँडिरहेको बताइन् । ‘२० वर्षपछि नेतृत्वका लागि अवसर पाएकी छु,’ उनले भनिन्, ‘जनताको पनि सहयोग पाएकाले छोरीलाई असर नगर्ने गरी चुनावी प्रचार–प्रसारमा आएकी छु ।’ नयाँ पत्रिका बाट