राजपालाई चुनाव चिन्ह दिन तीनपटक संसद बैठक बसेर विधेयक पारित

Posted on: June 11, 2017 | views: 232

काठमाडौं ।

व्यवस्थापिका–संसद्को बैठकले “राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०७४” लाई बहुमतले पारित गरेको छ । 

संसदको आजको तेस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । 

यसअघि सो विधेयकको दफाबार छलफलमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक घन्टाबीचमा तीन वटा बैठक बसी विधेयक संशोधन गर्नुले लोकतन्त्र र प्रजातन्त्रलाई फाइदा पुग्दैन भन्दै विधेयक फिर्ता लिन सरकारसमक्ष माग गर्नुभयो । 


राष्ट्रिय जनमाोर्चाका मीना पुनले स्थानीय तहको निर्वाचनले जनताको अधिकारलाई थप बलियो बनाएको चर्चा गर्दै जनताअघि राजनीतिक दल पछि हुने अवस्था आउन नदिन दोस्रो तहको निर्वाचन निर्धारण मितिमा सम्पन्न गर्न सरकार अडिग हुनुपर्ने बताउनु भयो । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री शर्माले दोस्रो तहको स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएकाले निर्वाचनमा भाग लिन सबै राजनीतिक दलसँग आह्वानसमेत गर्नुभयो ।


संसद बैठक


बैठकमा गृहमन्त्री जनार्दन शर्माले संशोधन प्रस्ताव प्रस्तुत गर्दै एकीकरण भएका , वा गाभिएका राजनीतिक दललाई चुनावमा भाग लिन सजिलो हुने गरी विधेयक ल्याइएको  जानकारी दिनु भयो ।


संशोधन विधेयक पारित भएपछि राष्ट्रिय जनता पार्टी लगायतका दललाई असार १४ गते हुने स्थानीय तहको निर्वाचमा भाग लिन बाटो खुल्नेछ ।


राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने


यसअघि सरकारले आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन गर्न संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । 


सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाललाई निर्वाचनमा सहभागी गराउन विधेयक संशोधन गर्ने निर्णय गरेको हो । 


बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ ३० गते स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जानु हुने भएकाले राष्टपतिको भ्रमणलाई बैठकले स्वीकृति दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारी अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनको जेनेभामा हुने १०६औँ अधिवेशनको सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न स्विट्जरल्यान्ड जान लाग्नुभएको हो ।