राजपा आन्दोलनको तयारीमा :एक्कासि किन आक्रोशित ?

Posted on: June 10, 2017 | views: 176

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारीमा लागेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपा एक्कासि पुरानै मागमा अडान राख्न थालेको छ । उसले आन्दोलनका कार्यक्रम तय गर्न छलफलसमेत सुरु गरेको छ ।

दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमतिका आधारमा राजपा प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गर्न आएको थियो । तर, उसले शुक्रबारबाट एक्कासि संशोधनलाई न्यूनतम अडानका रूपमा लिन थालेको छ । सरकारले राजपाको मागअनुसार बिहीबार मात्रै संसद्बाट स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो । संशोधनलगत्तै निर्वाचन आयोगले स्थानीय तहमा भाग लिने दलमध्ये उम्मेदवार मनोनयनका लागि आधिकारिक हस्ताक्षर बुझाउन शुक्रबार सूचना प्रकाशित गरिसकेको छ । तर, राजपाका नेताहरूले आयोगले आधिकारिक हस्ताक्षर बुझाउन गरेको सूचना अमान्य भएको बताएका छन् ।

राजपाका नेता राजेन्द्र महतोले आयोगले जारी गरेको सूचनाको कुनै अर्थ नभएको बताए । ‘नजाने गाउँको बाटो नसोध्नु भन्छन्, हामीलाई सरोकार नभएको विषयमा कुनै प्रतिक्रिया आवश्यक छैन,’ महतोले भने । उनका अनुसार राजपासँग एकता गरेका दलले उम्मेदवार मनोनयनमा आवश्यक पर्ने पार्टीको आधिकारिक हस्ताक्षर बुझाउने छैनन् । राजपाका अर्का नेता शरत्सिंह भण्डारीले निर्वाचन आयोगले राजपाका लागि आधिकारिक हस्ताक्षर माग नगरेको र एकता भइसकेका पुराना दलको हस्ताक्षर माग गरेकाले त्यो सम्भव नभएको दाबी गरे । ‘राजपाको निर्वाचन चिह्न के हो भन्ने पनि अहिलेसम्म प्रस्ट भएको छैन, अनि कसरी निर्वाचन जान सकिन्छ ?’ भण्डारीले भने ।

एक्कासि किन आक्रोशित ?
सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय नगरेको, बन्दी रिहाइ नगरेकोलगायतका पुरानै अडान दोहोर्याउँदै राजपा निर्वाचनमा सहभागी नहुने गरी आन्दोलनमा जाने तयारीमा लागेको छ । राजपाले २८ जेठमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको नेताहरूको भनाइ छ । जसरी पनि निर्वाचन बिथोल्न बुथबुथमा आन्दोलन परिचालन समिति बनाउने भएको छ ।

निर्वाचनमा सहभागी हुने न्यूनतम आधार पनि सरकारले नबनाएका कारण वातावरण नबनेको राजपाका अर्का नेता भण्डारीको आरोप छ । ‘स्थानीय तहको संख्या बढाउने कुरामा पनि सर्वोच्चमा भ्याकेटमा जाने कुरा थियो, अब कहिले जाने हो ? अहिलेसम्म नगएपछि २ असारमा मनोनयन दर्ता गर्न कसरी सम्भव छ ?’ भण्डारीले प्रश्न गरे ।

आयोगले माग्यो हस्ताक्षर
निर्वाचन आयोगले स्थानीय तहमा सहभागी हुने राजनीतिक दलहरूमध्ये उम्मेदवारको मनोनयन दर्ता गराउन आवश्यक पर्ने आधिकारिक हस्ताक्षर बुझाउन सूचना प्रकाशित गरेको छ । आयोगले तीन दिनको समयसीमा दिएर राजपालगायतका दललाई हस्ताक्षर बुझाउने समय दिएको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार जिल्लामा दर्ता भएका दलहरूमध्ये स्थानीय तहको निर्वाचनमा सहभागी हुने, तर हस्ताक्षर छुट भएका दलहरूका लागि २९ जेठसम्म हस्ताक्षर बुझाउने समय दिएको छ ।

यादव र गिरीको पार्टी एकता 
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता भएको हो ।