सत्तारुढ दल कांग्रेसभित्र उम्मेद्वार छनोटमा चरम विवादः अधिकाशंको आयो राजिनामा पत्र

Posted on: June 10, 2017 | views: 160

 इलाम । सत्तारुढ दल नेपाली कांग्रेस इलाममा उम्मेदवार छनोटको विषयलाई लिएर चरम विवाद सुरु भएको छ । जिल्लाबाट सिफारिस भएका नामलाई उम्मेदवारकोरुपमा चयन नगरेपछि विवादले उग्ररुप लिएको हो । उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउदै कांग्रेस इलामको क्षेत्र नम्बर–१ का क्षेत्रीय समितिका पदाधिकारीसहित बहुमत सदस्यले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

इलामको सूर्योदय नगरपालिकामा केन्द्रीय समितिले उम्मेदवार हेरफेर गरेपछि असन्तुष्टि जनाउँदै क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरुले पदबाट राजिनामा गरेका हुन् । जिल्लामा रहेको उम्मेद्वार छनोट समितिले सूर्योदय नगरपालिकाको प्रमुखमा क्षेत्रीय सभापति समेत रहेका दुर्गा बरालको नाम सिफारीस भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिले भने महासमिति सदस्य प्रेम चाम्लिङलाई टिकट दिएपछि असन्तुष्टि चुलिएको हो ।

क्षेत्रिय कार्य समितिका २० मध्ये १५ जना सदस्यले राजिनामा दिएका छन् । राजिनामा दिनेमा सभापति दुर्गा बराल, उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पुर्ण मुखिया, सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, ज्ञानु राई, अर्जन पोखरेल, हिरा बहादुर लाप्चा, हरि बुढाथोकी, राजु बम्जन र पुष्प कार्की छन् ।

उम्मेदवारीको निर्णय नसच्चिएसम्म राजिनामा फिर्ता नलिने उनीहरुको अडान छ । जिल्लाले सिफारीस गरेकाको नाम कार्यान्वयन नभएसम्म पार्टीको कुनै पनि गतिविधि र चुनावी अभियानमा सहभागी नहुने क्षेत्रीय सभापति बरालले बताए । उपमेयरमा भने जिल्लाबाट सिफारीस भएकै बन्दना अधिकारीको नाम अनुमोदन भएको छ । १० स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा जिल्लाबाट सिफारीस भएकै उम्मेदवारकै नाम अनुमोदन भएको छ । सन्दकपुर गाउँपालिकाको उपाध्यक्ष टुङ्ग्याउन बाँकी छ ।