सपथ ग्रहणमा देखिएको देउवा र ओलीको देखावटी एकता

Posted on: June 07, 2017 | views: 299

काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

मंगलबार व्यवस्थापिका संसदले कांग्रेस सभापति देउवा प्रधानमन्त्री निर्वाचित गरेपछि बधाई दिनु अघि नै ओली बाहिरिएका थिए । तर, बुधबार पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ ग्रहण समारोहमा उपस्थित भए र देउवालाई बधाई दिए ।

जब देउवाको सपथ ग्रहण सकियो, प्रमुख विपक्षी दलका नेता ओली बधाई दिन अघि बढे । त्यसक्रममा हात मिलाए लगतै देउवाले ओलीको हात समातेर माथि उठाए ।

दुबैले क्यामेरातिर हेरेर पोज पनि दिए, जसले राष्ट्रपति भवन शीतल निवासको प्रांगणमा रहेका सबैको ध्यान तान्यो । दुई नेताले केहीबेर हातमा हात मिलाएर एकताको सन्देश दिए ।  बधाई आदान प्रदान गरिरहँदा दुवै नेता उन्मुक्त हाँसोमा थिए ।