मन्त्रालयको भागबण्डा सुरु : को–को बन्दै छन् मन्त्री ?

Posted on: June 06, 2017 | views: 367

काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवाले सानो संख्यामा छरितो मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकाछन्। 

४० औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका देउवाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि सपथ लिँदा आफ्ना समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट १० देखि ११ जनालाई समेटेर पहिलो चरणमा छरितो मन्त्रिमण्डल बनाउन लागेका हुन्। देउवाको नेतृत्वमा रहने मन्त्रमिण्डलमा पहिलो चरणमा कांग्रेसबाट थोरै संख्यामा मात्र मन्त्री बन्ने छन्। ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर पहिलो चरणमा मन्त्री हुने सम्भावना रहेको स्रोतले बताएको छ। कार्की वा आचार्यमध्ये एकले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने पक्का छ ।

यस्तै श्रेष्ठ र मन्सुरको मन्त्रालय कुन हुने भन्ने छलफल भइरहेको छ। श्रेष्ठलाई सम्मानजनक मन्त्रालय दिने पक्षमा देउवा देखिएका छन्। यस्तै वर्तमान मन्त्री परिषदमा रहेर सकरात्मक चर्चा कमाएका केही मन्त्रीलाई समेत कांग्रेसले सरकारमा सहभागी गराउने बुझिएको छ। यसरी दोहोरनिे सम्भावना भएकामा रमेश लेखक र गगन थापाको चर्चा छ। तर पहिलो चरणमा नभएर दोस्रो चरणमा मात्र देउवाले उनीहरुलाई मन्त्री बनाउन चाहेका छन्।

मीन विश्वकर्मा र भीमसेनदास प्रधानको नाम पनि कांग्रेसबाट मन्त्रीको सूचीमा रहेको उच्च स्रोतले जानकारी दियो। यस्तै डीना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नाम समेत चर्चामा छ। २०६४ सालमै काठमाडौंमा चुनाव जितेका ध्यानगोविन्द रञ्जित पनि मन्त्री हुने सम्भावना रहेको छ । सुदूरपश्चिमबाट वीरबहादुर बलायर र बहादुरसिंह थापामध्ये एकजनाले अवसर पाउने बताइन्छ। लुम्बिनी क्षेत्रबाट भरत शाह, चन्द्र भण्डारीको सम्भावना छ भने ध्रुव वाग्लेदेखि भीष्मराज आङदेम्वे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेत पनि मन्त्रीका लागि चर्चामा छन्।

वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट पहिलो चरणको मन्त्री मण्डल विस्तारमा को–को जाने भन्ने सोमबार अबेर रातीसम्म निर्णय गरेको छैन। माओवादीबाट पहिलो चरणको मन्त्रीमण्डल विस्तारमा अहिले उपप्रधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरा र उर्जामन्त्री रहेका जनार्दनलाई पठाउने गृहकार्य रहेको स्रोत बताउँछ। दुवैले गृह मन्त्रालय रोजेकाले कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने औपचारिक निर्णय भने भएको छैन ।

माओवादी उच्चस्रोतका अनुसार पार्टीमा नेतृत्व गरेर महरा परराष्ट्रमा जाने र गृहमा शर्मालाई पठाउन सक्ने सम्भावना बढी रहेको छ। माओवादीबाट दोस्रो चरणमा प्रभु साह, गिरिराजमणि पोखरेल, रेखा शर्मा, रामनारायण बिडारी, टेकबहादुर बस्नेत सीता नेपाली जाने चर्चा छ । केपी ओली नेतृत्व सरकारको पालामा सरकारमा सहभागी शक्ति बस्नेत, हरिबोल गजुरेल र अग्नि सापकोटाले पनि आकांक्षा राखेका छन्। फोरम लोकतान्त्रिक समेत पहिलो चरणमा नै सरकारमा जाने भएको छ।