‘फेस सेभिङ’ खोज्दै राजपाः केन्द्रको अन्यौल, गाउँगाउँमा यस्तो रणनीति

Posted on: June 06, 2017 | views: 129

काठमाडौं,जेठ २३ । राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यति बेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर–उपमेयरलगायत विभिन्न पदमा आफूअनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्। मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको पार्टीनिकटकै स्रोतको दाबी छ।


‘मधेस आन्दोलनका एक सहिदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेदवार बनाउन उहाँ सक्रिय देखिनुभाछ’, स्रोतले भन्यो, ‘पार्टीले चुनाव बहिष्कार गर्ने बताइरहँदा केन्द्रीय स्तरका वरिष्ठ यी नेताको रबैयाले स्थानीय कार्यकर्ता नै अन्योलमा परेका छन्।’

स्रोतका अनुसार राजपा केन्द्रीय नेतृत्वले विभिन्न जिल्ला संगठनलाई आन्तरिक परिपत्र गरी गाउँ, नगर तथा वडास्तरमा आन्दोलन परिचालन समिति गठन गर्नुका साथै उम्मेदवारको नामवलीसमेत तयार पार्न निर्देशन दिएको छ।

६ मधेसवादी दल एकीकरण भएर निर्माण भएको राजपा अझैै पनि औपचारिक रुपमा चुनावको विरोधमै छ। शनिबार मात्रैै राजपा सप्तरीले विज्ञप्ति जारी गर्दै संविधान संशोधन नभई चुनावमा नजाने तथा संविधान संशोधन प्रक्रियामा बाधक देखिएको एमालेले सप्तरीमा गर्ने जुनसुकै कार्यक्रमको प्रतिवाद गर्ने जनाएको थियो। यसरी सार्वजनिक रुपमा चुनावको विरोध गरिराखेको भए पनि राजपाको केन्द्रीयदेखि जिल्ला तहसम्मको नेतृत्व पंक्ति भित्रभित्रै चुनाव तयारीमा जुटेको स्रोतको दाबी छ। स्रोतका अनुसार भारतीय राजदूतले चुनावमा जान राजपालाई गरेको आग्रह, स्थानीय कार्यकर्ताको दबाबलगायतका कारण पार्टी नेतृत्वले आन्तरिक रुपमै भए पनि चुनाव तयारीलाई निरन्तरता दिएको हो।


‘दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्धारित मिति सारिएलगत्तै पार्टीभित्र चुनावी रणनीति निर्माणले तीव्रता लिएको हो’, नाम नछाप्ने सर्तमा एक केन्द्रीय नेताले भने, ‘पर्ख र हेरको नीतिअनुरुप हामी अघि बढिरहेका छौं, चुनावमै भाग लिनुपर्‍यो भने तयारी त चाहिन्छ नै, नभए आन्दोलन त छँदै छ नि।’


पछिल्लो एक सातायता राजपाले सप्तरीस्थित विभिन्न गाउँपालिका, नगरपालिकादेखि वडा तथा बस्तीस्तरमा समेत आन्दोलन परिचालन समिति गठनलाई उच्च प्राथमिकता दिएर अघि बढाएको पार्टी सचिव गजेन्द्र मण्डलले बताए। उनले भने, ुपार्टी एकीकरणपश्चात् त्यसै पनि संगठन विस्तार तथा सुदृढीकरण गर्नुपर्‍यो, त्यसमाथि चुनाव र आन्दोलन त झन् संगठनबिना कहाँ सम्भव हुन्छ र?’


आफूहरु चुनावविरोधी नरहेको मण्डलको भनाइ छ। ‘हामी चुनावविरोधी होइनौं, मण्डलले भने, ‘चुनावको विकल्प खुला राखेरै हामी आन्दोलनमा होमिएका हौं, माग सम्बोधन भयो भने चुनावमा जानै पर्छ। त्यति बेला संगठन नभए निकै समस्या सामना गर्नुपर्ने हुन्छ।’


सप्तरीका १७ स्थानीय तहमध्ये सुरुंगा र सप्तकोसी नगरपालिकाबाहेक सबैजसो तहमा आन्दोलन परिचालन कमिटी गठन गरिसकेको राजपा सप्तरीका अध्यक्ष सुनिलकुमार झाले जानकारी गराए। ुसुरुंगा र सप्तकोसीमा पनि जेठ २५ गतेसम्म गठन हुन्छु, झाले भने, ‘साथै ६० प्रतिशत वडामा पनि आन्दोलन परिचालन समिति गठन भइसकेको छ, बाँकि २५ गतेसम्म टुंग्याउँछौं।’


निर्वाचनकै चर्चा बढी


राजपाले गाउँपालिका, नगरपालिकादेखि लिएर वडास्तरसम्ममा आन्दोलन परिचालन समिति गठनका लागि डाक्ने गरेका भेला, बैठकमा आन्दोलनभन्दा चुनावी रणनीतिबारे नै बढी चर्चापरिचर्चा हुने गरेको स्थानीय नेता बताउँछन्।


औपचारिक रुपमा चुनावको विरोधमै रहेको बताउने गरे पनि पार्टीभित्रै चुनावमा सहभागी हुन चर्को दबाब रहेको नेताहरु स्विकार्छन्। ‘गाउँदेखि वडास्तरसम्मका कार्यकर्ताले चुनावमा जान दबाब दिइराखेका छन्ु, राजपा सप्तरीका एक नेताले भने, ‘यस्तो दबाबका कारण पार्टी आन्तरिक रुपमै भए पनि चुनावी रणनीति निर्माणमा अग्रसर भएको हो।’


राजपा सप्तरीले एक महिनाअघि सप्तरी घर भएका केन्द्रीय नेतासमेतलाई राखेर संविधान संशोेधन नभएसम्म चुनावमा भाग नलिन केन्द्रीय समितिलाई लिखित आग्रह गरेको थियो। तर दोस्रो चरणको चुनावका लागि निर्धारित मिति परिवर्तन भएपछि स्थानीय नेता पनि निर्वाचनमा भाग लिन हदैसम्म लचिलो भएको पार्टी स्रोतको भनाइ छ। ुकतिपय केन्द्रीय नेताले नै चुनावमा सहभागी हुनुपर्ने अडान देखाउँदै आएका छन्ु, स्रोतले भन्यो, ुकसैलाई छोरालाई मेयर बनाउनु छ, कसैलाई भाइबन्धु वा भतिजलाई। खासगरी संविधानसभा चुनावमा उम्मेदवार बनेका केन्द्रीय नेता चुनावमा जान बढी व्यग्र देखिएका छन्।’


चुनावविरुद्ध चर्को बयानबाजी गर्दै हिँडेका राजपाका केन्द्रीयदेखि जिल्ला तहसम्मका प्रभावशाली नेता पार्टीभित्र भने चुनावको पक्षमा लबिङ गरिरेको घटनाक्रमसमेत सार्वजनिक भइरहेको छ। ुअफ द रेकर्ड भन्नुपर्दा पार्टी नेतृत्व पनि चुनावमा सहभागी हुनेबारे लगभग सहमत भइसकेको अवस्था छ’, राजपा निकटको विश्वस्त स्रोतले भन्यो, ‘आफ्ना अजेन्डाबारे सार्वजनिक रुपमा फेस सेभिङ गर्ने आधारमात्रै नेताहरुले खोजिरहेका छन्।’


दल दर्ता, अनुकूल चुनाव चिह्न, स्थानीय तहको संख्या थप, सहिद घोषणा, मुद्दा फिर्तालगायतका माग सम्बोधन भइदिए राजपा नेतालाई चुनावमा सहभागी हुन सहज हुने स्रोतको बुझाइ छ।


‘मधेस, थरुहटलगायतका आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरि नै सक्या छन्, झूटा मुद्दा फिर्ताको कुरोसमेत चलि नै रहेको अवस्था छ’, स्रोत भन्छ, ‘स्थानीय तहको संख्या थपिदियो भने छाता चुनाव चिह्न नदिए पनि राजपा चुनावमा सहभागी हुने मनशायमा देखिन्छ।’


राजपा सचिव मण्डल भने दल दर्ता गरी आफ्नो दलको आधिकारिक चुनाव चिह्न प्रदान, स्थानीय तहको संख्या वृद्धि तथा मोर्चाले उठाएका अन्य माग सम्बोधनका साथै संघ तथा प्रदेश निर्वाचनअघि संविधान संशोधन गर्नुपर्ने प्रतिबद्धता सरकारका तर्फबाट आए राजपा चुनावमा सहभागी हुने बताउँछन्।


स्रोतका अनुसार राजपा केन्द्रीय नेतृत्वले विभिन्न जिल्ला संगठनलाई आन्तरिक परिपत्र गरी गाउँ, नगर तथा वडास्तरमा आन्दोलन परिचालन समिति गठन गर्नुका साथै उम्मेदवारको नामवलीसमेत तयार पार्न निर्देशन दिएको छ।जितेन्द्रकुमार झाले नागरिकमा यो खबर लेखेका छन्।