२३ गते प्रधानमन्त्रीको चुनाव, देउवा एकमात्र उम्मेद्धार

Posted on: June 04, 2017 | views: 207

काठमाडौं ।

यवस्थापिका–संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही  जेठ २३ गतेका लागि तोकिएको छ । 


राजनीतिक दलहरूबीच सहमति खोजी  आउंदो मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने संसद सचिबालयले जनाएको छ । 


सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गर्ने अडानबाट पछि नहटेपछि प्रधानमन्त्री निर्वाचनको मिति सरेको नेताहरुले प्रतिक्रिया दिनुभएको छ । 


प्रमुख दलबीच द्विपक्षीय, बहुपक्षीय एवम् आन्तरिकरुपमा पनि छलफल गरेर अन्तिम निष्कर्षमा पुग्ने सहमति भएको छ । बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री चयनको प्रक्रिया केही दिनका लागि सारिएको बताउनुभयो । 


शीर्ष नेताको बैठकमा एमालेले भरतपुर महानगरपालिकाको निर्वाचन सन्दर्भमा निर्वाचन आयोगको निर्णय गलत भएको भन्दै प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध गर्ने बताएको थियो । 


मुलुकको कार्यकारी चयनको विषयमा सदन नै अवरोध गर्ने विषय संसदीय मूल्य एवम् मान्यताविपरीत रहेको भन्दै त्यसो नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्रीका प्रत्यासी देउवालगायतका नेताले आग्रह गर्नुभएको थियो । 


दुवैपक्षबीच कुरा मिल्न नसकेपछि मध्यमार्गी प्रस्तावका रुपमा प्रधानमन्त्री चयनको मिति सारिएको हो । काँग्रेस नेता एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रधानमन्त्री चयन प्रक्रिया नै रोकिनु पूर्णतः गलत भएको प्रतिक्रिया दिनुभयो । 

काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सहमतिका आधारमा अगाडि बढौँ भन्ने प्रमुख प्रतिपक्षीको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री चयनको प्रक्रिया दुई दिन सरेको बताउनुभयो । 

एमाले नेता सुवास नेम्वाङले भने प्रधानमन्त्री चयनको प्रक्रियाबारेमा प्रमुख प्रतिपक्षीलाई कुनै जानकारी नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको प्रतिक्रिया दिनुभयो । 


उहाँले सबैको सहमतिमा नै प्रधानमन्त्री चयनको प्रक्रिया दुई दिनलाई सरेको बताउनुभयो । एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि आफूहरुकै प्रस्तावमा संसद् बैठक स्थगित भएको बताउनुभयो । 


उहाँले भन्नुभयो, “हामीले नै बैठक स्थगित गर्ने प्रस्ताव राख्याँै, दुई दिनसम्म घनिभूत छलफल गर्ने र सहमतिमा पुग्ने भन्ने हाम्रो प्रस्तावअनुसार नै मङ्गलबार १ बजेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय भएको हो ।” सभामुख घर्तीले कार्यव्यवस्था परामर्श समितिमा सहमतिको लागि गर्नुभएको प्रस्ताव व्यर्थ भएपछि शीर्ष नेताको बैठक बसेको थियो ।

राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री पदका उम्मेदवार शेरबहादुर देउबालाई शर्सत सर्मथन गर्ने भएको

राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री पदका उम्मेदवार शेरबहादुर देउबालाई शर्सत सर्मथन गर्ने भएको छ । 

बिगतमा सरकार संग भएको तीन बुदे सहमती कार्यान्वयन हुने प्रतिबद्धता आएपछि राष्ट्रिय जनता पार्टीले पनि समर्थन गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य शरद सिंह भण्डारीले जानकारी दिनुभयो । 


राप्रपा देउवाका पक्षमा

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

राप्रपा संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सरकारमा सहभागिताका लागि वार्ता गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिनुभयो । 

संसद्मा राप्रपाबाट ३७ सांसदको प्रतिनिधित्व छ ।