जागिर छाडेका अधिकांश राजनीतिमा असफल

Posted on: June 03, 2017 | views: 202

पहिलो चरणको स्थानीय निर्वाचनमा सहभाग हुन जाीगर छाडेर आएका अधिकांश पराजित भएका छन् । उम्मेदवार बन्नकै लागि सिन्धुलीका १७ शिक्षक, ३ सामाजिक परिचालक र एक प्राविधिकले जागिरबाट राजीनामा दिएका थिए । जसमध्ये ८ जना मात्रै निर्वाचित भएका छन् ।

राजीनामा दिएर उम्मेदवार बनेका शिक्षकमध्ये कमलामाई नगरपालिकाको उपप्रमुखमा मञ्जु देवकोटा, दुधौली नगरपालिकाको उपप्रमुखमा बालकुमारी अधिकारी दनुवार, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्षमा कारसाङ तामाङ, घ्याङलेक गाउँपालिका उपाध्यक्ष दुर्गादेवी सुनुवार, फिकल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर रजनमगर, तीनपाटन गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा दिनेशकुमार रमौली मात्रै निर्वाचित भएका छन् ।

स्थानीय निर्वाचनमा सामाजिक परिचालकबाट राजीनामा दिएर वडा अध्यक्षको उम्मेदवार बनेकामध्ये खड्ग नेपाली फिकल गाउँपालिका वडा नम्बर १ र रामबहादुर थिङ कनपा वडा नम्बर ११ बाट निर्वाचित भएका छन् भने बितिजोरबाट वडा अध्यक्ष बनेका हरिकिशोर कार्की पराजित भएका छन् ।

यस्ता छन् पराजित पूर्वशिक्षक
शिक्षण पेसाबाट राजीनामा दिएर गोलन्जोर गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएका टीकाबहादुर देवकोटा, कमलामाई नगरपालिकाको उपप्रमुखका उम्मेदवार सुशीला थिङ, सुनकोसी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार शान्ता कार्की र मिथुला प्याकुरेल, हरिहरपुरगढी गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार छिरिङमाया लामा पराजित भएका छन् ।

शिक्षण पेसा छाडेर चुनावमा होमिएका फिकल गाउँपालिका–१ का महेन्द्रबहादुर सुनुवार, फिकल वडा नं २ का घनश्याम पहाडी, फिकल–३ का पुण्यप्रसाद फुयाल, फिकल–५ का वडा अध्यक्षका उम्मेदवार यादव क्षेत्री पराजित भएका छन् । कमलामाई नगरपालिका–३ बाट अध्यक्षमा उम्मेदवारी दिएका ओमबहादुर कार्की पनि पराजित भएका छन् ।

यस्तै दुधौली नगरपालिकामा प्राविधिक सहायकका रूपमा कार्यरत दिनेश अधिकारी पनि जागिरबाट राजीनामा दिई निर्वाचनमा सहभागी भएका थिए । उनी पनि पराजित भएका छन् । उनले माओवादी केन्द्रबाट दुधौली नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए । स्थानीय तह प्रमुख–उपप्रमुखदेखि वडा अध्यक्षसम्म प्रतिनिधि बन्न व्यक्तिगत कारण देखाउँदै उनीहरूले राजीनामा दिएका थिए । निर्वाचनअघि शिक्षण पेसा छाडेर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने होड नै चलेको थियो । सिन्धुलीबाट २५ भन्दा बढी शिक्षकले स्थानीय निर्वाचनअघि राजीनामा दिएका थिए ।