'भरतपुरको मतगणना सुरु नभई संसद खुल्दैन'-केपी ओली

Posted on: June 02, 2017 | views: 199

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगरपालिकाको मतगणना सुरु नगरेसम्म संसद अबरुद्ध पार्ने बताउनुभएको छ ।

आज भक्तपुरको सूर्यविनायकमा नारायणविलास जोशी स्मृति प्रतिष्ठान सार्वजनिकीकरण एवम् नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन समारोहमा बोल्दै उहाँले आपराधिक मानसिकताका कारण मतगणनामा मतपत्र च्यातिएको आरोप लगाउनु भयो । 

निर्वाचन आयोगलाई दबाब दिएकै कारण आयोगले अझै के गर्ने भनेर फैसला गर्न नसकेको टिप्पणी गर्दै उहाँले संसदको काम प्रधानमन्त्री चुन्ने मात्रै नभई सबै समस्याको समाधान खोज्ने थलो पनि भएको चर्चा गर्नुभयो ।

भरतपुरमा फेरी मतदान भए गलत नजिर बस्ने र आगामी निर्वाचनहरुमा हार्ने पक्षले पटक पटक मतपत्र च्यात्ने र पटक पटक निर्वाचन गराईरहनु पर्ने अबस्था आउने उहाँको भनाई थियो । उहाँले पहिलो चरणको चुनावमा एमालेलाई हराउन सत्तापक्षले छल गरेपनि एमालेको बहुमत आएको दाबी गर्दै दोश्रो चरणको चुनाबमा एमालेले अझै बढी सथानमा जित हासिल गर्ने दाबी गर्नुभयो ।

चौतर्फी रुपमा आफूलाई प्रहार भईरहेको बताउँदै उहाँले एमालेको तर्फबाट नवनिर्वाचित जनताको पक्षमा गम्भिर भएर काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्र, लगायतले नवनिर्वाचित जनप्रतिनिधीलाई जनताको हितमा काम गर्न सुझाव दिनुभएको थियो ।