पद छाड्दै प्रधानमन्त्रीले भने-'काँग्रेससँगको सहमती अनुसार राजीनामा दिएं'

Posted on: May 24, 2017 | views: 248

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।


देशबासीको नाममा आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले राजीनामाको घोषणा गर्नुभएको हो ।


प्रधानमन्त्रीले गत वर्ष साउनमा आफु प्रधानमन्त्री हुँदा नेपाली काँग्रेससँग भएको सहमति अनुसार आफुले राजीनामा गरेको बताउनुभयो ।


नेपाली राजनीतिमा सहमति र बचन तोड्ने प्रवृतिविरुद्ध आफूले काँग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा संविधान कार्यान्वयनको गति सुस्त रहेको, आर्थिक सूचांकहरु निराशाजनक रहेको, भूकम्प पीडितहरुको विचल्ली अवस्था रहेको र छिमेकीसँगको सम्बन्ध असहज रहेकोमा आफ्नो १० महिनाको कार्यकालमा परिस्थितिहरु बदलिन सफल भएको बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनसँगै लोकतन्त्र अब संविधानका अक्षरहरुबाट हरेक गाउँ र नगरका वडामा पुगेको र संघीय लोकतान्त्रिक गणतन्त्र  र समग्रमा राष्ट्रले जितेको बताउनुभयो ।


प्रधानमन्त्रीले राष्ट्रिय गौरवका ठूला आयोजनाहरुको निरन्तर अनुगमन र यो वर्ष ऐतिहासिक रुपमा पुनर्निर्माणले पाएको गति, ठूला विकास आयोजनाहरुको कार्यान्वयनमा प्रधानमन्त्री स्वयंको निरन्तर अनुगमन र हस्तक्षेप, अर्थतन्त्रलाई चलायमान बनाउने योजनावद्ध प्रयास र लोडसेडिङको अन्त्यका कारण मुलूकका आर्थिक परिसूचकहरु निकै सकारात्मक भएका बताउनुभयो । 


उहाँले राजश्व लक्ष्यभन्दा २४ प्रतिशत बढी उठेको, चौबीस वर्ष यताकै उच्च ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दिशामा मुलुक अघि बढेको र विगत १२ वर्ष यताकै सबैभन्दा कम मूल्यवृद्धि कायम भएको बताउनुभयो ।


प्रधानमन्त्री भएलगत्तै आफुले लोडसेडिङ अन्त्य गर्ने ठोस संकल्प लिएर अत्यन्तै महत्वाकांक्षी ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकाल व्यवस्थापनमा सरकारबाट उल्लेखनीय काम भएको उल्लेख गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको, ती आयोगसँग सम्बन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको, द्वन्द्वमा परी मृत्यु भएका, बेपत्ता भएका नागरिकहरुका परिवारलाई थप पाँच लाख रुपैयाँ राहत वितरण कार्य प्रारम्भ गरिएकोे बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले सर्वेक्षण सम्पन्न भइसकेका भूकम्प प्रभावित ११ जिल्लामा निजी आवास अनुदानको पहिलो किस्ता वापतको रकम सबैजसो सेवाग्राहीका खातामा पठाई सकिएको, निजी आवास निर्माणमा पीडितहरुले पाउने अनुदान रकममा एक लाख र सहुलियत ऋणमा ३ लाख रुपैयाँ थप गरिएको र समग्रमा आठ लाखसम्मको प्याकेजको व्यवस्था गरिएको बताउनुभयो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७३ साल साउन १९ गते व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा उहाँ निर्वाचित हुनुभएको थियो ।