'सुरक्षाकर्मीलाई जिउँदै जलाएर विभत्स हत्या गर्नेलाई उन्मुक्ती दिन हुँदैन'-आयोग

Posted on: May 19, 2017 | views: 226

काठमाडौं ।

राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट दिन नहुने जनाएको छ । 


आज विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनै पनि उन्मुक्ति नदिन आयोगले आग्रह गरेको हो । 


आयोगले जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय हो भन्दै यसबाट मानवाधिकारको संस्कृतिको विकासमा मद्दत नपुग्ने जनाएको छ । 


आयोगले घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान गरी २०७३ फागुन २४ गते नै प्रतिवेदन दिइएको ध्यानाकर्षण गराउँदै आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको जनाएको छ । 


सरकारले दुई दिन अघि मात्र कैलाली लगायत तराईका जिल्लामा भएका गम्भिर अपराधका घटनामा संलग्नलाई लक्षित गर्दै मुद्दा फिर्ता लिने निर्णय मन्त्रीपरिषद बैठकबाट गरेको छ । तर सरकारले आफ्नो निर्णयको बचाउ गर्दै गम्भिर घटनामा नभनेको तर्क गरेको छ ।