निर्वाचनको कारण मदन–आश्रित स्मृति दिवस ओझेलमा, पार्क बनाउने योजना अधुरो

Posted on: May 17, 2017 | views: 183

चितवन ।

नेकपा एमालेले आज चितवनको दासढुंगामा मतन आश्रित स्मृति दिवसको अबसरमा कार्यक्रम गरेको छ ।


उक्त कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा दासढुंगा र गाँजीपुरमा नमूना स्मृति पार्क बन्ने बताए । गाँजीपुर मदन भण्डारीको शव भेटिएको स्थान हो । 


मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै अगाडि बढ्न सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए ।


कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य विजय सुवेदी, चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, उपाध्यक्ष तेजेन्द्र खड्का, सचिव पार्वती रावल लगायतले मदन भण्डारी र जीवनराज आश्रितले देखाएको बाटोमा अगाडि बढ्न सके देशलाई समृद्ध बनाउन सकिने उल्लेख गरे । 


नेपाल सरकारले उहाँहरुको दुर्घटना भएको स्थल दासढुंगा र शव भेटिएको ठाउँ गाँजापुरमा स्मृति पार्क बनाउँदै छ । नेकपा एमाले चितवनकी सचिव पार्वती रावलका अनुसार दासढुंगामा मदन आश्रित स्मृति पार्क र गाँजीपुरमा मदन स्मृति पार्क निर्माण गरिंदैछ । 


पहिलो चरणमा करिब १० करोड रुपैयाँ बराबरको जग्गा खरिदका लागि टेण्डर समेत आव्हान भईसकेको उहाँले बताउनुभयो । तर यो योजना योजनामै सिमित भएको छ । योजना तुहिने हो की भन्ने चिन्ता स्वयं एमाले कार्यकर्ताहरुलाई छ ।


बि.सं. २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउँदै गर्दा उहाँहरु चढेको जीप मुग्लिन–नारायणगढ सडक खण्डको दासढुंगामा दुर्घटना भई त्रिशुलीमा खस्दा उनीहरुको मृत्यु भएको थियो ।