गच्छदार सबभन्दा धेरै पटक मन्त्री बन्ने ‘भाग्यमानी’ नेता,सूचीमा हेर्नुहोस् मन्त्री बनेका ११ सरकार

Posted on: May 09, 2017 | views: 153

काठमाडौं,बैशाख २६ -नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री नियुक्त भएका छन् । योसहित उनी १२आैँ पटक मन्त्रिपरिषद्मा पुगेका छन् । लोकतान्त्रिक फोरमलाई गच्छदारसहित ३ मन्त्रालय दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सरकारमा सहभागी गराएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । १५ पुस ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेर सत्ता–यात्रा सुरु गरेका गच्छदार २६ वर्षमा १२ औं पटक मन्त्री बनेका हुन । गच्छदार ४ मंसिर ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–३ बाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए। दर्जन पटक मन्त्रीको कुर्सीमा बसेका गच्छदारले मन्त्री बन्ने निश्चित भएपछि सर्वप्रथम रोज्ने निर्माण तथा यातायात मन्त्रालय हो। उनले अहिलेसम्म ६ पटक यो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। तर, तथ्याङ्क हेर्दा मन्त्रालयको नाम भने पटक–पटक फेरिएको छ। 


उनी पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारमा ०५२ मा मन्त्री बन्दा निर्माण तथा यातायात मन्त्रालय रोजे। त्यसपछि सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि उनलाई त्यही मन्त्रालय दिइयो। थापा नेतृत्वको सरकार ढलेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि गच्छदारले सो मन्त्रालय छाडेनन्। त्यसपछि मुलुकमा गणतन्त्र स्थापना भएपछि मन्त्रालयको नाम फेरेर भौतिक योजना तथा निर्माण मन्त्रालय बनाइयो। ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएका गच्छदारले त्यही मन्त्रालय रोजे। प्रचण्डले राजीनामा दिएपछि बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि उनी त्यही मन्त्रालयमा मन्त्रीको कुर्सीमा आसिन भए। 


यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि गच्छदारले सोही मन्त्रालय रोजेका थिए। यो मन्त्रालय बाहेक गच्छदार एक पटक सञ्चार राज्यमन्त्री, एक पटक पर्यटन तथा नागरिक उड्डयन मन्त्री, दुई पटक जलस्रोत मन्त्री, एक पटक गृहमन्त्री र अहिले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। आजको नागरिक दैनिकमा समाचार छ । 

१. गिरिजाप्रसाद कोइराला नेतृत्वमा १५ पुस ०४८ देखि १४ मंसिर ०५१ सम्म सञ्चार राज्यमन्त्री 

२. शेरबहादुर देउवा नेतृत्वमा ६ असोज ०५२ देखि २९ फागुन ०५३ सम्म निर्माण तथा यातायातमन्त्री 

३. सूर्यबहादुर थापा नेतृत्वमा १८ मंसिर ०५४ देखि २ वैशाख ०५५ सम्म निर्माण तथा यातायातमन्त्री 

४. गिरिजाप्रसाद कोइराला नेतृत्वमा ८ वैशाख ०५५ देखि १० पुस ०५५ सम्म निर्माण तथा यातायातमन्त्री ५. कृष्णप्रसाद भट्टराई नेतृत्वमा १७ जेठ ०५६ देखि २७ फागुन ०५६ सम्म पर्यटन तथा नागरिक उड्डयनमन्त्री 

६. कृष्णप्रसाद भट्टराईकै नेतृत्वमा २७ फागुन ०५६ देखि ८ चैत ०५६ सम्म जलस्रोतमन्त्री 

७. शेरबहादुर देउवा नेतृत्वमा ११ साउन ०५८ देखि १९ असोज ०५९ सम्म जलस्रोतमन्त्री 

८. पुष्पकमल दाहाल नेतृत्वमा १५ भदौ ०६५ देखि ११ जेठ ०६६ सम्म भौतिक योजना तथा निर्माणमन्त्री ९. माधव नेपाल नेतृत्वमा ११ जेठ ०६६ देखि १२ भदौ ०६८ सम्म उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री 

१०. डा. बाबुराम भट्टराई नेतृत्वमा १२ भदौ ०६८ देखि १ चैत ०६९ सम्म उपप्रधान एवं गृहमन्त्री 

११. केपी ओली नेतृत्वमा २४ असोज ०७२ देखि ९ साउन ०७३ सम्म उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री