गोरखामा बाबुराम र प्रचण्डका कार्यकर्ताबिच कुटाकुट, चार जना घाइते

Posted on: May 06, 2017 | views: 214

गोरखा ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिडेका नेता कार्यकर्तालाई बाटो छेकेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओबादी केन्द्र) का कार्यकर्ताले आक्रमण गरेका छन् ।


गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा आज साँझ माओबादीको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरुको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

माओबादी कार्यकर्ताले नयाँ शक्ति पार्टीका कार्यकर्ता चढेको ग २ च ३३६४ नम्बरको बोलेरो जीपको सीसा फूटाइदिएका छन् । इट्टा प्रहारबाट बोलेरोको अगाडि भागको सीसा फूटेको छ भने बा ३७ प २६०४ र बा ४० प ६४२७ नम्बरको मोटरसाइकल तोडफोड गरेका हुन् । साँझ पौने छ बजेतिर माओबादीले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेका थिए । 

नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावी सभा गरेर फर्किएको टोलीमाथि माओबादीले आक्रमण गरेका हुन् । कुमाल स्कारपियो गाडिमा रहेकाले आक्रमणमा परेनन् । चुनावी प्रचार टोली सवार बोलेरोमाथि माओबादीले आक्रमण गरेका प्रत्यक्षदर्शीले जनाएका छन् । 

चुनावी प्रचारकै लागि बोलेरोमा सवार र मोटरसाइकलमा सवार माओबादी कार्यकर्ताले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई कुटपिट गरेको नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार ज्ञानेन्द्र कुमालले बताउनुभयो ।

आक्रमणपछि केहीबेर आँबुखैरेनी–गोरखा सडकखण्ड अबरुद्ध भएको थियो । घटनास्थलमा प्रहरी उपरीक्षक जनकराज पाण्डेय, प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापा, सशस्त्र प्रहरी नेतृत्वको बाक्लो सुरक्षा टोली परिचालन गरिएको छ । 

नयाँ शक्ति पार्टीका कार्यकर्तामाथि आफूहरुले आक्रमण नगरेको गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार कृष्ण रानाले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो टोलीले लाल सलाम भन्यो । उनीहरुले अश्लिल इसारा गरेपछि सामान्य बिबाद भएको हो । कुटपिट भएको छैन ।’ तर प्रत्यक्षदर्शीका अनुसार माओबादी कार्यकर्ताले नयाँ शक्तिका कार्यकर्तामाथि झण्डा राखेको डण्डा र इट्टाले कुटपिट गरेका थिए ।