बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीद्धारा निर्वाचन आचारसंहिता बिपरित काम

Posted on: May 06, 2017 | views: 393

काठमाडौं ।

निर्वाचन आयोगले आचारसंहिता विपरित मोटरसाइकल र्याली निकाल्ने दललाइ कारवाही प्रक्रिया शुरु गरेको छ । 

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेकाले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनुगमनको क्रममा मोटरसाइकल ¥याली फेला पारि तत्काल रोक्न आदेश समेत दिनुभएको थियो ।

निर्वाचन आचारसंहितामा ‘निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकल लगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने उल्लेख छ । 

यसैगरी अनलाइन पोर्टल सेतोपाटी डटकमले काठमाडौं महानगरपालिका मतदातालाई ‘हामीले सोध्यौं तपाई कसलाई भोट हाल्नु हुन्छ किन ?’ भन्ने शीर्षकमा निर्वाचन आचारसंहिता विपरीत मतसर्भेक्षण तथा मतदाताको धारणा सङ्कलन गरेको भन्दै आयोगको यसप्रति सख्त ध्यानाकर्षण भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभएको छ ।   

आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई वेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न÷नगराउन आयोगले निर्देशन दिएको छ ।

उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने आचारसंहितामा उल्लेख छ ।