६ स्थानीयतहमा काँग्रेसको उम्मेदवार एक भन्दा बढी

Posted on: May 04, 2017 | views: 256

२१ बैशाख, विदुर । बैशाख ३१ गते हुने स्थानीयतहको निर्वाचानको लागी नुवाकोटका १२ वटा स्थानीतह मध्ये छ स्थानीयतहमा नेपाली काँग्रेसको तर्फबाट एक भन्दा बढी उम्मेदवार मनोनयन परेको छ । पार्टीमा आकाक्षी धेरै भएकाले उम्मेदवारी चयन टुङ्गिन बाँकी रहदाँ छ स्थानीयतहमा काँग्रेसमा उम्मेदवार एक भन्दा बढी देखिएका छन् ।

पाटीले वितरण गरेको उम्मेदवार प्रति असन्तुष्टि जनाउदै बेलकोटगढी नगरपालिकामा काङ्ग्रेसको तर्फबाट मेयरमा यादवप्रसाद नेपाल, प्रतापसिंह लामा र भूपेन्द्रबहादुर बानियाँले मनोनयन दर्ता गराएका छन् । उपमेयरमा हिरा पाण्डे र हिरा तिवारीले मनोनयन दिएका छन् । ककनी गाउँपालिकामा काङ्ग्रेसको तर्फबाट अध्यक्षमा दिपेश लामा र बिष्णुबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा सरिता आचार्यको उम्मेदवारी परेको छ । लिखु गापामा काङ्ग्रेसको तर्फबाट अध्यक्षमा विनोद पाठक र धु्रव श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा शुभद्रा अधिकारीको उम्मेदवारी परेको छ । ६ वटा वडा रहेकोमा दुई अध्यक्षबाट तीन÷तीन वटा वडाको प्यानल दर्ता भएको निर्वाचन अधिकृत बिमल थापाले जानकारी दिनुभयो ।

पञ्चकन्या गापामा काँग्रसबाट अध्यक्षमा रामेश्वर थापा र यमबहादुर थापाले मनोनयन दर्ता गराएका छन । उपाध्यक्षमा सीता खड्का र सलिना केसी रहेका छन् । तादी गापामा काङ्ग्रेसबाट अध्यक्षमा नारायण पाण्डे र नारायण भण्डारीले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा इश्वरी उप्रेतीको उम्मेदवारी परेको छ । तार्केश्वर गापामा काङ्ग्रेसबाट अध्यक्षमा चोकराज शाक्य र शिव अधिकारीको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उपाध्यक्षमा सुनमायाँ तामाङको उम्मेदवारी परेको छ ।

आकाक्षीहरु धेरै देखिएकाले उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाउन बाँकी रहेकाले एक भन्दा बढी उम्मेदवारी परेको हुनसक्ने जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । एक भन्दा बढी स्थानमा उम्मेदवारी दिएका उम्मेदवारहरुले केन्द्रीय प्रतिनिधि प्रकाशमान सिंहको हस्ताक्षर भएको उम्मेदवार सिफारिस पत्र समावेश गरी पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् ।

पार्टीको लेटर प्याड र केन्द्रीय प्रतिनिधिको हस्ताक्षर भएको सिफारिस पत्र भएकाले आधिकारिक उम्मेदवार को हुने भनेर पुनःअर्को पत्र ल्याउन उम्मेदवारहरुलाई सूचित गरिएको सम्बन्धित स्थानीयतहका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।