साझा पार्टी समर्थनमा लतिलपुरबाट मेयरमा रमेश महर्जन र उपमेयरमा शोभा शाक्यको उमेद्वारी

Posted on: April 29, 2017 | views: 429

ललितपुर ।

स्थानिय तह निर्वाचनमा साझा पार्टीको समर्थनमा ललितपुरबाट मेयर र उपमेयरमा क्रमश रमेश महर्जन र शोभा शाक्यले उमेद्वारी घोषणा गरेका छन् ।


भर्खरै स्थापित साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य समेत रहेका रमेश महर्जन तथा शोभा शाक्यले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयरका लागि स्वतन्त्र उमेद्वारी घोषणा गरेका हुन् ।


कृषक परिवारमा जन्मिएर रत्न आभुषण व्यवसायमा लागेका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष समेत रहेका छन् ।


उनी नेपाल चेम्बर अफ कमर्सको कार्य समितिका सदस्य समेत हुन् । अध्यात्म र समाजसेवाप्रति झुकाव राख्ने महर्जनले विसं २०७२ को महाभूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र सँस्कृतिको केन्द्र बनाउने अठोट गरेर स्थानीयवासीको सहभागीतामा झण्डै १०० भवनलाई परम्परागत नेवास् वास्तुकलामा पुनर्निर्माण गर्ने कार्यको नेतृत्व गरिरहेका छन् ।


महर्जनले आफ्नी आामाको नाममा परोपकारी संस्था माया फाउण्डेशन स्थापना गरेका छन् भने उनी लुम्विनि बौद्ध विश्वविद्यालय तथा अपांगता सेवा संघ, खोकना सहित आधा दर्जन सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेका छन् ।


यसैगरि ललितपुरबाट सपमेयरको उमेद्वारी घोषणा गरेकी ५४ बर्षीय शोभा शाक्य पाटनको रूद्रवर्ण महाविहार परिसरमा जन्मेकी हुन् ।


बुवा बहादुर शाक्यबाट असल नेतृत्व क्षमता सिकेको बताउने शाक्य हाल शाक्यसिंह विहारकी उपाध्यक्ष समेत रहेकी छिन् ।


शाक्यले पाटन औद्योगिक क्षेत्रमा रहेको आफ्नो उन तथा हस्तबुनाई कारखानामा ५०० भन्दा बढी महिला कामदारलाई रोजगारी दिएकी छिन् ।


महिला उत्थानमा सानैदेखि गहिरो भावना राख्ने बताउने शाक्यले ठैना महिला समूह जस्ता कैयन संस्था मार्फत महिलाको सशक्तिकरण तथा उद्यम विकासमा ठुलो योगदान पुर्याउँदै आएकी छिन् ।


साझा पार्टीले असल राजनीतिक तथा सामाजिक मूल्य र मान्यतालाई प्रतिनिधित्व गर्ने रमेश महर्जन र शोभा शाक्यलाई ललितपुर महानगरपालिका प्रमुख र उपप्रमुखको उमेदवारको रूपमा समर्थन गरेको जनाएको छ ।


भ्रष्टाचार विरोधी कल्याणकारी(उदारवादी साझा पार्टी पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको ४ खम्बामा नेपाललाई एकै पुस्ताभित्र रुपान्तरण गर्ने लक्ष्य राखेको साझा पार्टीले समग्र ललितपुरवासीलाई सुसँस्कृत र इमानको नयाँ राजनीति थालनी गर्ने कार्यमा महर्जन तथा शाक्यलाई मतदान गरि सहयोग गर्ने अपेक्षा लिएको जनाएको छ ।


साझा पार्टीले यसअघि नै काठमाडौंबाट मेयरमा किशोर श्रेष्ठ र उपमेयरमा निरुपमा यादवले दिएको उमेद्वारी घोषणालाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

निरुपमा यादव साझा पार्टीबाट काठमाडौंको उपमेयर उमेद्वार

काठमाडौंको मेयरमा पूर्व सचिव तथा बागमती सरसफाई अभियन्ता किशोर थापाको उमेदवारी