यस्तो छ बैशाख ३१ र जेठ ३१ गते गर्ने स्थानीय तह निर्वाचनको नयाँ कार्यतालिका

Posted on: April 24, 2017 | views: 611

काठमाडौं ।

निर्वाचन आयोगले दुई चरणको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगको आज बसेको बैठकले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगले जनाएको छ ।

आयोगले पहिलो चरण वैशाख ३१ का लागि मनोनयन दर्ता गर्ने दिन ३ दिन पछि सारेको छ ।

यसअघि आयोगले पहिलो चरणको निर्वाचनको मनोनयन दर्ताका लागि बैशाख १६ को दिन तोकेको थियो भने आज विहान सरकार, संघीय लोकतान्त्रिक गठवन्धन र निर्वाचन आयोगका पदाधिकारीबीच भएको बैठकमा  दुई दिनपछी सार्ने सहमति भएपनि आयोग बैठकले मनोनयन दर्ता गर्ने दिन ३ दिन पछि सारेर बैशाख १९ लाई तोकेको छ ।

 

आयोगले आज स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार पहिलो चरणको निर्वाचनको मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन यही वैशाख १९ गते, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने वैशाख २० गते,   मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन  र नाम फिर्ता लिन वैशाख २१ गतेलाई तोकिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।

आयोगका अनुसार उम्मेदवारको आन्तिम नामावली प्रकासन गर्ने र निर्वाचन चिन्ह प्रदान  यही वैशाख २२ गते   तथा  मतदान वैशाख ३१ गते आइतवार विहान ७ देखि अपरान्ह ५ बजेसम्म हुने छ ।

त्यसैगरी दोस्रो चरणको निर्वाचन अन्तरगत उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयन दर्ता भएका उम्मेदवारको सूचि जेठ १९ गते प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयन जाँच  जेठ २० गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने र उम्मेदवारले  नाम फिर्ता लिन जेठ २१ गतेका लागि तय भएको छ ।

त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई  निर्वाचन चिन्ह  जेठ २२ गते प्रदान गर्ने तथा मतदान जेठ ३१ गते विहान ७ बजेदेखि  अपरान्ह ५ बजेसम्मको कार्यक्रम आयोगले स्विकृत गरेको हो ।



यसैबिच आजै सरकार, संघीय लोकतान्त्रिक गठवन्धन र निर्वाचन आयोगका पदाधिकारीबीच नयाँ दलको निर्वाचनमा सहभागिताका वारेमा छलफल भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा दोश्रो चरणको जेठ ३१ गते हुने निर्वाचनको व्यवस्थापकिय तयारीका बारेमा पनि छलफल भएको छ ।

बैठक पछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलको आधिकारीक हस्ताक्षरका लागि समय दिने निर्णय भएको बताउनुभयो ।

एक प्रश्नमा प्रमुख आयुक्त डा. यादवले निर्वाचन आचार संहिताका कारण जेठ १५ गते बजेट ल्याउन नमिल्ने भएकाले संविधान संशोधन गरेर भए पनि निर्वाचन पछि असार पहिलो साता बजेट ल्याउन सुझाव दिइएको जानकारी दिनुभयो ।

नेता लक्षमणलाल कर्णले निर्वाचनमा सहभागि हुने विषयमा छलफल भएको र त्यसका लागि एकिकरण भएका नयाँ दल दर्ता गरी चुनाव चिन्ह प्रदान गर्ने विषयमा सहयोग गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

आवाज

संघीय लोकतान्त्रिक गठवन्धनका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्वन्धी कानूनका आधारमा नयाँ दलको दर्ता प्रक्रिया पुरा गर्ने र मतपत्रमा भएका चिन्ह मध्ये आयोगसँग छलफल गरेर टुङ्गो लगाउने सहमति भएको बताउनुभयो ।