प्रचण्ड सरकारको पारा, राष्ट्रपति भारत उडेपछि शुक्रबारको बिदा फिर्ता

Posted on: April 17, 2017 | views: 177
काठमाडौं । राष्ट्रपतिलाई नै बिबादमा मुछ्नेगरि अनावश्यक रुपमा भारत भ्रमणमा जाने र आउनेदिन सार्वजनिक बिदा दिने निर्णय गरेको पुष्पकमल दाहाल प्रचण्ड सरकारले बिदाको निर्णय फिर्ता लिएको छ । जनताबाट बिरोध भएपछि त्यसको बचाउ गर्न नसकेको सरकारले राष्ट्रपति भण्डारी भारत उडेपछि आजको बिदा कायमै राखेर फर्कंदा शुक्रबारका दिन दिने भनिएको सार्वजनिक बिदा फिर्ता लिएको हो । सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ । तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्रालयले राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको जानकारीदएको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा समेत दाहाल सरकारले सार्वजनिक बिदा दिएको थियो । त्यसको समेत चर्को आलोचना भएपनि अनेक बहाना बनाएर बचाउ गरेको दाहाल सरकारले फिर्ता लिन नसकेपछि चीनका राष्ट्रपति आउँदा पनि बिदा हुने भनि तोडमोड गरेको थियो । नेपालका राष्ट्रपति भारत जाँदा र आउँदा नेपालमै मात्र बिदा दिने भारतले नदिने भन्दै यसको चर्को आलोचना भइरहेको छ ।