सरकार परिवर्तनको डरलाग्दो खेल,एमालेः माओवादी, काँग्रेस फुटाउने रणनीतिमा

Posted on: April 10, 2017 | views: 163

काठमाडौं,चैत २८ । स्थानीय निकायको निर्वाचन मुखमै आइरहेको छ । दलहरु आन्तरिक तयारीमा पनि लागेका छन् । तर यसबीचमा ठूलो षडयन्त्र नेपालमाथि हुँदैछ । त्यो पनि सरकार परिवर्तनको खेल बनाएर मुुलुकलाई फेरि अर्को दलदलमा धकेल्ने ।  छिमेकी मुलुकहरु आपसमा स्वार्थ पूरा गर्न नेपालमा खेलिरहँदा समस्या भएको हो । भारतले विमलेन्द्र निधिलाई सरकारको नेतृत्व गर्न खुवै कसरत गर्दागर्दै विमलेन्द्र निधि नै संकटमा परेका छन् । 

उनका भारतीय सारथीहरु सबै केन्द्रीय राजनीतिको लाइमलाइटमा नभएकाले उनीहरु निधिलाई सघाउन सक्ने स्थितिमा छैनन् ।

भारतीय केन्द्रीय सोच भने संविधान संशोधन गरी मधेसी मोर्चाका माग संवोधन गरेपछिमात्र निर्वाचन होस् भन्ने चाहन्छ । उसलाई अहिले सरकार परिवर्तनको हतारो छैन । भारत यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा पनि खुलेर लागेको छैन । 

तर प्रचण्डले भारतको अहित गर्दैनन् भन्नेमा आशावादी छ । प्रचण्डले पनि भारतको कुनै क्षति नगर्ने जनाइसकेका छन् । आखिर भारतकै तजबिजीमा उनी प्रधानमन्त्री बनेका हुन् । 

तर महत्वाकांक्षी प्रचण्डलाई यसपटक चीनले राम्रोसँग प्रयोग गर्दैछ । आफ्ना समकक्षीसमेत नभएका बेलामा अनि कुनै एजेन्डा बिना नै राजकीय भ्रमणका नाममा उनी चीन जानु आफैमा रहस्यात्मक थियो । तर अहिले फर्किएर आइसकेपछि भने त्यसको पूर्ण छनक दिएका छन् । 


काँग्रेससंग गरेको जेन्टलमेन एग्रिमेन्ट (भद्र सहमति) अनुसार प्रचण्डले बढीमा चुनावपछि सरकार छाड्नु पर्नेछ । त्यसो त उनी साउनमा सरकारमा जाँदा नौ महिनेमात्र कार्यकाल लिएर गएका थिए । 


तर कम्युनिष्ट नीतिले अहिले काँग्रेसलाई कुनै पनि हालतमा सरकारको नेतृत्व गर्ने अवसर नदिन नयाँ चक्रव्यूँह रचेको छ । त्यो रचनाअनुसार अबको गठबन्धन माओवादी, एमाले र राप्रपासमेत सहभागी हुनेछ । 


विश्वस्त उच्चस्रोतका अनुसार अहिले विभिन्न चरणमा वार्ता भइरहेका छन् । प्रचण्ड आफ्नै नेतृत्वमा नयाँ गठबन्धन बनाउने तयारीमा रहेका छन् । तर यसमा एमालेले भने फरक नेतृत्व चाहेको छ । एमालेले भारतलाईसमेत मान्य हुन सक्ने गरी बामदेव गौतमलाई नेतृत्व सुम्पनु पर्ने सोच केपी ओलीको छ । 


यता एमालेबाटै माधवकुमार नेपाल भने आफू प्रधानमन्त्री बन्नुपर्नेमा लागिरहेका छन् । उनले भारतीय नेताहरुसँग साँठगाँठ बढाइरहेका छन् । यो साँठगाँठले उनी आफूनै प्रधानमन्त्री बन्ने हो भनेजसरी आफ्नो खेमाका नेता तथा कार्यकर्तासँग व्यवहार गरिरहेको उनी निकटकै एक नेताले बताएका छन् । 


तर काँग्रेसलाई जसरी पनि सिध्याउन चीनले अख्तियारी गरे जसरी प्रचण्ड लागिरहेको स्रोत बताउँछ । बैशाख ३१ गते कुनै पनि हालतमा चुनाव सकिने छैन । चुनाव नै गर्नुपरे बैशाख ३१ मा केही भागमा र कार्तिकतिर बाँकी भागमा चुनाव गर्ने तयारी हुँदैछ । 


यो भनेको अस्थिरतामा धकेलेर मुलुकलाई आफ्नै मुठ्ठीमा राख्ने षड्यन्त्रमात्र हो । चुनावको रटान रटिरहने माओवादी र एमालेका उच्च तहका नेताहरुबीच नेपालमा कम्युनिज्मको झण्डा गाडिरहन काँग्रेसलाई टुक्राटुक्रा पार्ने राम्रो अवसर अहिले बनेको हो । ग्राइन्ड डिजाइनअनुसार नै राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याइएकोसमेत स्रोतले बताएको छ । 


थापालाई दोस्रो वरियता दिन काँग्रेस सभापति शेरबहादुर देउवालाई मनाउने र उनलाई भित्र्याएपछि काँग्रेस आन्तरिक किचलोमा फस्नेसमेत आँकलन सफल भएको छ । त्यसअनुसार अहिले देउवा क्याम्पका निधि अलपत्र परेसंगै रामचन्द्र पौडेलले च्याप्न खोजेका छन् । काँग्रेस टुक्रिएपछि सरकार कसरी चलाउने भन्ने रणनीतिसमेत केपी ओलीले बुझेका छन् । 


केपी ओली सरकार बाहिर बसेर पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण बन्न प्रचण्डलाई सुझाएका छन् । उनले बामदेवलाई सरकारको नेतृत्व सुम्पने तर बाहिर बसेर प्रचण्ड र ओलीले सरकार ह्याण्डिल गर्ने सहमति बन्दैछ ।  केही सिटका लागि राप्रपा तयार छँदैछ । उनीहरुको बुझाइ छ राप्रपा अध्यक्ष थापा पदका भोका छन् उनलाई प्रयोग गर्न सकिन्छ । 


बैशाख ३१ मा चुनाव गर्नुपर्नेमा अहिलेसम्म ब्यालेट बक्स नै अड्किएको छ । आखिर सरकार परिवर्तनको खेलमा लागेर दलहरु लडाउन चीन लागेको हो भने सफल हुने छाँटसमेत ल्याएको छ । चीनले कुनै पनि विषयमा हात हाल्दैन, हाले छाड्दैन भन्ने उदाहरण पहिल्यैदेखि नै विश्वमा दिइरहेको छ । जनभावना साप्ताहिकमा समाचार छ ।