कमल थापाले निर्वाचन आयोगलाई टेरेनन्, उपप्रधानमन्त्री नै आचारसंहिता उल्लंघन गर्दै

Posted on: April 04, 2017 | views: 204
काठमाडौं । अरुले नियम, कानुन र आचारसंहिता उल्लंघन गरे सचेत गराउँदै कानुनी कारवाही गर्नुपर्ने निकायका व्यक्तिनै उल्लंघनमा लागेपछि कसले के भन्ने ? यस्तै गरिरहेका छन् उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले । निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि अब निर्वाचन आयोगले उपप्रधानमन्त्री थापालाई स्पष्टिकरण सोध्ने भएको छ । थापाले आचार संहिताविपरीत केही जिल्लाको भ्रमणमा गरेपछि आयोगले स्पष्टिकरण सोध्न लागेको हो । मन्त्रीहरु आयोगको अनुमतिमा जिल्ला सदरमुकामसम्म जान पाउनेभएपछि निर्वाचन आयोगलाई थाहै नदिइ बाइपास गरेर थापा राप्रपा नेपालको पार्टी कार्यक्रममा जिल्ला भ्रमणमा गइरहेका छन् । तर, उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्तासँग भेट्नेबारे आयोगलाई कुनै जानकारी गराएका थिएनन् । यसबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ । उपप्रधानमन्त्री थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी गएका थिए । स्याङ्जा सदरमुकाम तलीबजारबाट दुई घण्टाको पैदल दूरीमा रहेको सिरुवारीमा पुगेर कमल थापाले आफ्ना कार्यकर्ताहरुसँग छलफल गरेका थिए । स्याङजाबाट उपप्रधानमन्त्री थापा पोखरा हुँदै सोमबार बाग्लुङ गए । थापाले बाग्लुङ्गमा पार्टी कार्यकर्तालाई सम्बोधन गरेका थिए । कमल थापाले निर्वाचन आचारसंहिता उल्लंघन गरेपनि उनको पार्टिका नेताहरुले आचार संहिता उल्लंघन नभएको जिकिर गरेका छन् ।