मधेशी मोर्चाले आन्दोलन बाहेक जानेन, चैतबाट फेरी आन्दोलनको घुर्की

Posted on: May 03, 2016 | views: 152

२ चैत, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ०६२/६३ सालको दोस्रो जनआन्दोलन जस्तै सशक्त आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।

मोर्चामा आबद्ध सात दलसहित १५ दलीय संघीय गठबन्धनको मंगलबार बसेको बैठकले चैत अन्तिम सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।

सरकार मधेसका माग पूरा गर्न तयार नभएको भन्दै थप रणनीति तय गर्न संघीय गठबन्धनको बैठक मंगलबार संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको थियो ।

बैठकपछि फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले सरकारले आफूहरुका माग पूरा गर्न तत्परता नदेखाएकाले चैत अन्तिम सातादेखि ‘संयुक्त जनआन्दोलन’ सुरु गर्ने बताए । उक्त आन्दोलन ०६२/६३ सालको आन्दोलनकै स्वरुप र शैलीमा गरिने उनले बताए ।

उक्त आन्दोलनलाई ‘संयुक्त जनआन्दोलन’ नाम दिइएको छ ।

त्यसअघि चैत ६ गते काठमाडौंमा कालो झण्डासहित विरोध प्रदर्शन गर्ने श्रेष्ठले जानकारी दिए । चैत ६ गते शान्ति वाटिकादेखि माइतीघर मण्डलासम्म कालो झण्डासहित प्रदर्शन गर्ने उनले जानकारी दिए ।

सीमांकन हेरफेर गरिनुपर्नेलगायतका माग पूरा गर्न सरकारले बेवास्ता गरेकाले विरोध प्रदर्शन गर्नुपरेको उनले बताए ।