स्थानीय चुनावका लागि यस्तो छ प्रमुख तीन दलको तयारी

Posted on: March 26, 2017 | views: 211

काठमाडौं,चैत १३ । स्थानीय तह निर्वाचनको तयारीमा जुटेको कांग्रेसले चुनावी रणनीति तय गर्न आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। घोषणापत्र तयारी  र निर्वाचनमा पार्टी संयन्त्र परिचालनसम्बन्धी ‘मेकानिजम’ बनाउनेबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए। ‘स्थानीय तह निर्वाचनमा पार्टीको घोषणापत्र निर्माण र पार्टी संयन्त्र कसरी परिचालन गर्ने भन्ने ‘मेकानिजम’ बनाउनेबारे बैठकमा छलफल हुन्छ,’ केन्द्रीय सदस्य साउदले नयाँ पत्रिकाससँग भने। बैठकमा पार्टी संरचनालाई स्थानीय तहको पछिल्लो परिवर्तित संरचनाअनुसार कसरी समायोजन गर्नेभन्नेबारे पनि छलफल हुने उनले बताए।


 स्थानीय निकाय परिवर्तन भएर नयाँ संरचना बनेको भए पनि कांग्रेसले पार्टी संरचनालाई त्यसअनुरूप ढालिसकेको छैन। ‘स्थानीय निकायबाट तह बन्दा पार्टीको संरचनामा पर्न गएको असरलाई ध्यानमा राखी कसरी समायोजन गर्ने भन्ने विषयमा बैठकले मापदण्ड निर्माण गर्नेछ,’ साउदले भने। कांग्रेसले यसअघि ७५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर स्थानीय तहमा पार्टीको अवस्थाबारे बुझेको थियो। सबै केन्द्रीय प्रतिनिधिले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाइसकेका छन्। ती प्रतिवेदनको सार बैठकमा पेस गर्ने र त्यसअनुसार चुनावी रणनीति तय गर्ने तयारीमा कांग्रेस छ। 


केन्द्रीय प्रतिनिधिहरूले पार्टीको गुट–उपगुट मिलाएर एकीकृत रूपमा स्थानीय निर्वाचनमा होमिए मुलुकभर नै कांग्रेसको अवस्था सुदृढ रहेको प्रतिवेदन  केन्द्रलाई बुझाएका छन्। ‘ग्राउन्ड रियालिटी’ बुझेर निर्वाचन जित्ने सम्भावना भएका नेतालाई टिकट दिए अधिकांश स्थानमा कांग्रेस बलियो रहेको प्रतिवेदनमा उल्लेख रहेको केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो। ‘निर्वाचनमा ‘ग्राउन्ड रियालिटी’ बुझेर बलियो नेतालाई टिकट दिन पार्टी नेतृत्वले तयारी गरिरहेको छ,’ सदस्य साउदले भने, ‘बैठकमा त्यसैअनुरूप छलफल हुन्छ।’ 


त्यस्तै, पार्टीका संरचना संघीय ढाँचामा निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन्। पार्टीको प्रदेश समिति कसरी निर्माण गर्ने भन्ने मापदण्ड बनाउने प्रस्ताव बैठकमा पेस गर्ने तयारी देउवाले गरिरहेको उनीनिकट स्रोतले बतायो। उम्मेदवार छनोटको गृहकार्य गर्दै एमाले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार छनोटको मापदण्ड र कार्यविधि बनाएको छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीको तर्फबाट छनोट गरिने उम्मेदवारका लागि उसले सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको छ। सोमबारसम्म ती मापदण्डका आधारमा उम्मेदवार छनोटको काम सुरु गर्न देशभर सर्कुलर पठाइने महासचि ईश्वर पोखरेलले जानकारी दिए। चैतको तेस्रो सातादेखि अन्तिम सातासम्म देशैभर उम्मेदवार छनोट सक्ने गरी एमालेले स्थायी समितिबाट मापदण्ड र कार्यविधि बनाएको छ। एमालेले गाउँ, नगर, उपमहानगरको वडाध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने तयारी गरेको छ। 


गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखको सिफारिस सम्बन्धित कमिटी तथा जिल्ला कमिटीको सुझाबमा प्रदेश संगठन कमिटीले छान्ने निर्णय गरेको सचिव तथा संगठन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए। स्थायी समितिले उपमहानगरपालिका र महानगरपालिकाको मेयर र उपमेयर भने पार्टी केन्द्रीय कमिटीले छान्ने निर्णय गरेको छ। ‘जिल्ला कमिटीको सिफारिस र प्रदेशसमेतको राय लिएर केन्द्रीय कमिटीको निर्णयमा महानगर र उपमहानगरको मेयर र उपमेयर छानिने छन्,’ सचिव तथा संगठन विभागका प्रमुख गुरुङले नयाँ पत्रिकासँग भने। माओवादी केन्द्रको धमाधम बैठक माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाएको छ। उम्मेदवार छनोटदेखि चुनावी घोषणापत्र तयार पार्नेसम्मका आन्तरिक तयारी माओवादीले अन्तिम तहमा पुर्‍याएको छ। ‘युद्धस्तरमा चुनावी तयारीमा सिंगो पार्टी होमिएको छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्। 


माओवादीले स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी कमिटीहरू गठन गर्न वडा, गाउँ, नगर, उपमहानगर तथा महानगरका सम्मेलन गर्दै चुनावी तयारी तीव्र बनाएको प्रवक्ता भुसालले बताइन्। माओवादी नेताद्वय देव गुरुङ र वर्षमान पुनले स्थानीय तह चुनावका लागि पार्टीका तर्फबाट चुनावी प्रतिबद्धतापत्र केन्द्रीय तहमा तयार पारेका छन्। केन्द्रीय कार्यालयले उक्त प्रतिबद्धतापत्रलाई पारित गरेर सुझाबका लागि सातवटै प्रदेशमा आन्तरिक रूपमा सर्कुलर गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले जानकारी दिए। ‘केन्द्रीय तहमा चुनावका लागि प्रतिबद्धतापत्र तयार भइसकेको छ, स्थानीयस्तरमा त्यहाँका सापेक्षतामा थप केही बुँदा राखेर पनि तयार पार्न सकिने बनाइएको छ,’ बुढाथोकीले नयाँ पत्रिकासँग भने, ‘आन्तरिक रूपमा पठाइएको प्रतिबद्धतापत्रमा आन्तरिक सुझाब आएपछि केही सुधार गरी एक–दुई दिनभित्रै अन्तिम फाइनल गरेर सार्वजनिक गर्छौँ ।’ 


माओवादी केन्द्रले घोषणापत्रमा स्थानीय तहको गठनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै जनतालाई अधिकार सम्पन्न गर्ने र स्थानीय तहमै जनतालाई आफ्नो सत्ता आफैँले हस्तान्तरण गर्ने कामलाई उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेको छ। माओवादीले केन्द्रमा केन्द्रीय निर्वाचन परिचालन समिति र जिल्ला, महानगर, उपमहानगर, नगर र गाउँपालिका तहसम्म स्थानीय निर्वाचन परिचालन समिति बनाइसकेको छ। गत २३ फागुनमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले केन्द्रमा नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। 


समितिमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, विश्वनाथ साह, हितमान शाक्य, शक्ति बस्नेत, लेखराज भट्ट र विश्वभक्त दुलाललगायतका नेताहरू सदस्य छन्। उक्त समितिले निर्वाचन कार्यविधि, निर्देशिका, चुनावी प्रतिबद्धतापत्रको मस्यौदा तयार पारेर केन्द्रीय कार्यालयमा पेस गरेको थियो। त्यसलाई केन्द्रीय कार्यालयले पारित गरेर आन्तरिक रूपमा तल्ला निकायमा पठाइसकिएको मुख्यसचिव बुढाथोकीले बताए। नयाँपत्रिका दैनिकमा समाचार छ ।