निर्वाचन कार्यविधि बनाउँदै माओवादी केन्द्र, उम्मेदवार छनोटको जिम्मा स्थानीय समितिलाई

Posted on: March 13, 2017 | views: 269

काठमाडौं,फागुन ३० ।  स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ ।  निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्मेदवार छनोट र घोषणापत्र निर्माण केही दिनभित्रै सक्ने बताइएको छ ।

माओवादीले देव गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ ।  समितिमा सातवटै प्रदेशका इन्चार्ज तथा पार्टी केन्द्रीय कार्यालयका प्रभावशाली नेता छन् । प्रवक्ता पम्फा भुसालले सोमबार निर्वाचन परिचालन समितिको बैठक बस्ने जानकारी दिइन् ।

तत्कालीन संविधान सभाको निर्वाचनमा अनपेक्षित हार बेहोरेको माओवादीले यसपटक निश्चित मापदण्ड बनाएर मात्र उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

स्रोतका अनुसार यसपटक उम्मेदवार छनोटको सम्पूर्ण अधिकार स्थानीय समितिलाई दिने मापदण्ड तयार गरिरएको छ ।  स्थानीय पार्टी कमिटीले निश्चित सङ्ख्यामा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने र केन्द्रले सिफारिस भएका मध्येबाट अन्तिम उम्मेदवार टुङ्गो लगाउने गरी कार्यविधि बनाउने तयारी भइरहेको बताएको छ ।

संयोजक देव गुरुङले पनि तल्लो तहबाट आउने सिफारिसलाई प्रमुख आधार मानेर उम्मेदवार तय गर्नेगरी कार्यविधि तयार भइरहेको जानकारी दिए ।

निर्वाचन हुन ६० दिनमात्र बाँकी रहे पनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवार तोकिसकेका छैनन् ।  माओवादी केन्द्रको भने झापाको दमक नगरपालिका लगायतका केही स्थानमा स्थानीय पार्टी आफैँले उम्मेदवार तय घोषणा गरेर प्रचार नै थालिसकेको छ ।  दमकको समितिले चार दिनअघि पार्टी केन्द्रले मापदण्ड नै बनाउनुभन्दा अघि नै औपचारिक कार्यक्रम गरेर उम्मेदवार घोषणा गरेको थियो ।