मन्त्रिपरिषद विस्तार:कमल थापाले लिए सपथ,मन्त्री पाण्डे सरकारबाट बाहिरिए

Posted on: March 09, 2017 | views: 828

काठमाडौं,फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको उपस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।  थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री र राप्रपाका नेता दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन।

 राप्रपाको महाधिवेशनबाट शक्तिशाली अध्यक्षमा निर्वाचित भएका कमल थापाले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको सपथ ग्रहण गरिरहँदा माओवादीका हितराज पाण्डेलाई माओवादीले फिर्ता वोलाएको छ । 

 राप्रपाका तर्फबाट सरकारमा यसअघि नै सहभागी भएपनि पार्टीका तर्फबाट नेतृत्व गरेर कमल थापा गएका हुन्। उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरी पर्यटन मन्त्री बन्ने भएका छन् । बिहीबार हुनलागेको मन्त्रीमण्डलमा  थापा पछि गिरीले पनि सपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

एमालेसहित दुई सय एक सांसद संविधान संशोधनको विपक्षमा देखिएका छन्। संसदमा पाँच सय ९४ सांसद छन्। मधेशी मोर्चाले सरकारलाई समर्थन फिर्ता लिए पनि सरकारसँग प्रष्ट बहुमत रहनेछ। थापा थपिएपछि मन्त्रिपरिषदमा ३१ मन्त्री र १४ राज्यमन्त्री गरी ४५ जना भएका छन्।

अब मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री भएका छन्। यसअघि बिमलेन्द्र निधिले उपप्रधान तथा गृह र कृष्णबहादुर महराले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।