माधवलाई बाहिर राखेर मन्त्री चयन

Posted on: May 02, 2016 | views: 231

१५ काठमाडौं । 
गत बिहिबार बिहानै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले फोन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार आउन आग्रह गरे । उनले विषय पनि खुलाए– ‘आज मन्त्रिपरिषद् विस्तार गर्ने कुरा छ, त्यही विषयमा प्रधानमन्त्रीले कुराकानी गर्न तपाईं र जेएनलाई बोलाउन भन्नुभएको छ ।’
१० बजे वरिष्ठ नेता नेपाल बालुवाटार पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमै व्यस्त थिए । एकछिन कुरेपछि थाहा भयो, अर्का वरिष्ठ नेता झलनाथ खनाल इलाममै रहेछन् । साना दलका तर्फबाट परिवारका दलका एकनाथ ढकाल, समाजवादीका प्रेमबहादुर सिंह र जनमुक्ति पार्टीका शिवलाल थापा मन्त्री बन्ने चर्चा चले पनि राप्रपाबाट कसलाई बनाउने भन्नेमा कुरा मिलेको थिएन । प्रधानमन्त्री ओली राप्रपाका महामन्त्री विक्रम पाण्डेलाई मन्त्री बनाउन चाहन्थे । तर, अकुत सम्पत्तिको अभियोगमा व्यवसायीसमेत रहेका सभासद् पाण्डेलाई अख्तियारले पत्र काटेका कारण उनलाई अप्ठेरो परिरहेको थियो । यही बीचमा माधव नेपालको तर्क थियो– ‘पहिलादेखि नै सबै कुरा दीपक बोहरासँग भएको छ भने अहिले अरुसँग कुरा किन गर्ने ? लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेरसँग कुरा गरेर जुन नाम दिन्छन्, त्यही गरे भइहाल्यो नि ।’

वरिष्ठ नेता नेपाललाई तातो पानी र चिया खुवाउँदै, बेलाबेलामा विष्णु रिमाल आएर डेढ घन्टासम्म कुराएका थिए । कोसँग कुराकानी भइरहेको छ भन्ने नखुलाएरै रिमालले भनेका थिए– ‘तपाईंजस्तो उहाँ कहाँ हुनुहुन्छ र ? ढिलो भयो भने तपाईं घन्टी बजाएर पीएलाई बोलाउनुहुन्थ्यो । उहाँ त १० पटक पीए पठाए पनि कुरा छोट्याउनुहुन्न ।’

केपी र र्ईश्वरद्वारा नाम तय

बाहिर माधव नेपाललाई त्यतिबेर कुराएर भित्र प्रधानमन्त्री ओली र एमाले महासचिव ईश्वर पोखरेलबीच कुरा भइरहेको रहेछ । त्यही दिन एमालेका तर्फबाट राज्यमन्त्री नियुक्त हुँदैछन् भन्ने कुरा वरिष्ठ नेता नेपाललाई थाहा पनि थिएन । पछि भित्रबाट ओली र पोखरेल निस्केपछि बल्ल राज्यमन्त्री चयनको विषयमा छलफल भएको हेछ भन्ने थाहा भएको रहेछ ।

सल्लाह एउटा, घोषणा अर्कै

पछि दुई नेताबीच टेलिफोनमा कुराकानी भएको थियो । मन्त्रिपरिषद्को बैठक चल्दै गर्दा उप्रधानमन्त्री भीम रावलको मोबाइलमा दुई जनाबीच १५ मिनेट जति कुरा भएको थियो । स्रोतका अनुसार, त्यतिबेला ओलीले पार्टीबाट क–कसलाई मन्त्री बनाउने हो भनेर सोधेका थिए ।

वरिष्ठ नेता नेपालले तराईबाट फुल मन्त्री बनाउँदा शत्रुघ्न महतो, वंशीधर मिश्र, नागेन्द्र चौधरी वा रामचन्द्र यादवमध्ये एकजना बनाउन सुझाव दिएका थिए । तर, जवाफमा प्रधानमन्त्री ओलीले धर्मनाथ साहलाई बनाएर के हुन्छ भनेर सोधेका थिए । नेपालको जवाफ थियो– ‘त्यसो भए मलाई किन सोध्नुहुन्छ त ?’ राज्यमन्त्रीमा रामदयाल मण्डलको नाम उठेको थियो । अन्तिममा महोत्तरीका दीपनारायण साहको नाम घोषणा गरिएको छ ।

उता सुदूरपश्चिमबाट वरिष्ठ नेता नेपालले प्रेमबहादुर आले वा गणेशसिंह ठगुन्नामध्ये एकजनालाई राज्यमन्त्रीमा राख्न सिफारिस गरे पनि ओलीले आफ्नै गुटका वफादार भएका कारण दामोदर भण्डारीलाई बनाएका छन् ।

छ नम्बर क्षेत्रबाट एकजना क्याबिनेट मन्त्री बनाउन अनुरोध गर्दै वरिष्ठ नेता नेपालले प्रकाश ज्वालाको नाम लिएका थिए । फुल मन्त्री नहुने भएमा राज्यमन्त्रीमा दैलेखका अमरबहादुर थापालाई बनाउन अनुरोध गरिएकोमा जुम्लामा गत चुनावमा सहयोग नगरेको अभियोग लागेका समानुपातिकवाला बलबहादुर महतको नाम राज्यमन्त्रीमा घोषणा भएपछि नेपाल स्वयम् छक्क परेका छन् ।

छ जना राज्यमन्त्री बनाउँदा छ जना नै आफ्नै गुटका बनाउलान् भन्ने माधव नेपाल समूहका नेताहरुले कल्पना पनि गरेका रहेनछन् । एक पदाधिकारीले बुधबारसँग भने– ‘माधव नेपालसँग सल्लाह गरेको थिएँ भन्नका लागि टेलिफोन गर्र्ने तर नाम राख्दा आफ्ना गुटका मानिसको मात्रै राख्ने जालसाजीपूर्ण काम भएको छ ।’ वरिष्ठ नेता नेपालले यसलाई विगतमा खुमबहादुर खड्काले एउटा प्रसंगमा आफूलाई गरेको ठगीकै जस्तो रुपमा व्याख्या गरेका छन् ।आजको बुधबार साप्ताहिकमा खबर छ ।

राजधानीमा २१ सय ७० सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति रु ९सूची सहित० 
काठमाडौं,पुष १५ । नेपाल ग्यासले बुधवार उपत्यकाका विभिन्न २९ वटा डिलरमार्फत २१ सय ७० सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २९ वटा डिलरमार्फत २१ सय ७० सिलिण्डर  वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।