चुनावका बेला हतियार लिएर हिँड्नेलाई दुई लाख जरिवाना, नगदसँग मतपत्र साटे जेलको बास

Posted on: January 26, 2017 | views: 146

काठमाडौं,माघ १३ ।  स्थानीय चुनावका लागि चाहिने थप तीनवटा विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले काम अन्तिम चरणमा पुर्‍याएको छ ।   संसदको राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले बिहीबार निर्वाचन कसूर तथा सजायँसम्वन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पास गरेको छ ।  शुक्रबार यसबारे छलफल गर्न समितिको पूर्ण बैठक बोलाइएको छ । समितिले पास गरेपछि यो विधेयक शुक्रबार नै संसदमा पेश हुनेछ ।


विधेयकले निर्वाचनसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । मतदातालाई प्रलोभनमा पार्ने, हातहतियारसहित मतदान स्थलमा प्रवेश गर्नेलाई दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

यसअघि यस्तो कसुरमा ५० हजार रुपैयाँसम्म जरिवाना, दुई वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था थियो । विधेयकका अनुसार निर्वाचन सामाग्री तथा मतदाता परिचयपत्र कसैैले कब्जा गरेमा दण्डनीय हुनेछ । निर्वाचन सामाग्री लुट्ने, चोर्ने वा कब्जा गरेमा एक लाख रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजायँ हुनेछ ।


त्यस्तै मतदाता परिचयपत्र कब्जा गरेमा २५ हजारसम्म जरिवाना वा ६ महिना कैद वा दुबै सजायँ हुनेछ ।


नक्कली मतपत्र तयार पार्न, खरिद विक्री गर्न वा आधिकारिक छाप वा चिन्ह लगाएका मतपत्र आफूसँगै लैजान बर्जित छ । त्यसो गरेमा १ लाखसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजायँ हुनेछ । मतदान केन्द्र वा मतगणनास्थलमा विस्फोटक पदार्थ, भाला, खुकुरी जस्ता घरेलु हतियार पनि लैजान पाइँदैन । यो व्यवस्था उल्लंघन दुई लाखसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुबै सजायँ हुने नयाँ विधेयकमा व्यवस्था छ ।