राष्ट्रियतामा असर पार्ने संसोधन प्रस्ताव नमान्ने ओली र खनालको उद्घोष

Posted on: November 26, 2016 | views: 448

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याउन लागेको संसोधन प्रस्ताव एमालेलाई मान्य नहुने बताउनु भएको छ ।

बाराको निजगढमा नेकपा एमालेको प्रथम निजगढ नगर अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको सहमति विना सतारुढ दलहरुले ल्याउन लागेको राष्ट्रियता र अखण्डतामा असर पर्ने संसोधन प्रस्तावलाई सडक र सदन दुवै तर्फबाट प्रतिकार गरिने बताउनुभयो ।

उहांले प्रदेश घटाउने र हिमाल, पहाड र तराइ जोड्ने संशोधन प्रस्तावमा मात्र एमाले सहमत हुन सक्ने बताउनुभयो ।

सरकारले ल्याउने संशोधन प्रस्ताव एमालेलाई अमान्य ः  नेता खनाल
    
नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताउनुभएको छ ।

प्रेस चौतारी पर्साले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेकोले प्रस्तावको औचित्य नै समाप्त भएको विचार व्यक्त गर्नुभयो ।

नेता खनालले अहिले संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र (माओवादी केन्द्र) बीच एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।