कांग्रेसमा कमजोर बन्दै संस्थापन, सशक्त बन्दै सिटौला समूह

Posted on: November 22, 2016 | views: 403

काठमाडौं,मंसिर ७ । सत्तारूढ प्रमुख दल कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । १३औं महाधिवेशनका बेला भागबन्डाको राजनीति पूर्णतः अन्त्य गर्ने घोषणासहित निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल विद्यार्थी संघको महाधिवेशनपछि झनै गुट तथा उपगुटमा विभक्त भएका हुन् ।


आजको राजधानी दैनिकमा खबर छ– कांग्रेसभित्रका गुटहरू नेपाल महिला संघको महाधिवेशन हुँदै तरुण दलको महाधिवेशनसम्म आइपुग्दा झनै संस्थागत हुँदै गएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा प्रत्यक्ष देखिएका देउवा, पौडेल र सिटौला समूह नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा आइपुग्दा सतहमा देखिए भने पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनसम्म आइपुग्दा खुमबहादुर खड्का समूह पनि अस्तित्वमा देखिएको छ । 


कांग्रेस नेताहरू पछिल्लो समय नेतृत्वको गलत शैलीका कारण गुट–उपगुट संस्थागत हुँदै गएको बताउँछन् । ‘लोकतान्त्रिक पार्टीभित्र गुट जन्मिनु स्वाभाविक हो, तर व्यवस्थापनमा नेतृत्व चुकेको छ । महाधिवेशनको म्यान्डेड ६०÷४० को राजनीति अन्त्य होस् भन्ने भए पनि नेतृत्व चुकेका कारण पार्टी कमजोर बन्दै गइरहेको छ,’ कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा भन्छन् ।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरुषोत्तम दाहाल पछिल्लो समय कांग्रेस पार्टीभन्दा पनि मोर्चामा परिणत हुँदै गएको निष्कर्ष सुनाउँछन् । कांग्रेसका लागि गुट महारोग भइसकेको र गुटभित्र पनि दुई÷चारजना पछि लगाएर उपगुट बनाउने प्रचलन बढ्दै गएकाले खराब प्रवृत्ति हावी भएको तथा यस्ता गलत कुरा नियन्त्रण नगर्दा पार्टी झनै कमजोर बन्दै गएको उनको बुझाइ छ । 


‘नेपाली कांग्रेसभित्र सिद्घान्त र निष्ठा हराउँदै गएकोे छ, संस्कृति निर्माणमा नेतृत्वले ध्यान नदिएकाले नेतृत्वको कमजोरीमा गुट–उपगुट जन्मिएको हो, यसमा गुट जन्माउनेहरू पनि उत्तिकै जिम्मेवार छन्,’ दाहालले भने ।


राजनीतिलाई नजिकबाट नियाल्दै आइरहेका अर्का विश्लेषक जुगल भुर्तेल नीति समाजवादी तर व्यवहार व्यक्तिवादी हुँदै गएकाले कांग्रेसभित्र विभिन्न गुट÷उपगुट सिर्जना भएको बताउँछन् । भागबन्डाको अवस्था पुरानै निरन्तरता भएको बताउँदै भुर्तेलले निर्वाचनपछि हारेको समूहले जितेको समूहलाई स्वीकार गर्न नसक्नु र जितेको समूहले हारेका समूहलाई सही व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको बताए । ‘वर्तमान समयको राजनीतिक व्यवस्था नै विकृत छ, यसलाई सुधारिएको गुटतान्त्रिक संसदीय व्यवस्थाको संज्ञा दिए हुन्छ,’ उनले भने । एउटा सानो दल वा दुईचार नेता भएका दलले समेत समग्र राजनीतिमा प्रभाव स्थापित गर्न खोज्ने वर्तमान समानुपातिक निर्वाचन प्रणाली र उच्च नेतृत्वले मनोनीत गर्ने व्यवस्थालार्ई परिवर्तन नगरेसम्म जुनसुकै दलमा कांग्रेसकै जस्तो दुरावस्था देखा पर्दै जाने र त्यसले समग्र देशको राजनीतिमा नै प्रभाव पार्ने स्थिति देखा परेको भुर्तेलको निष्कर्ष छ ।


अहिले नेपाली कांग्रेसभित्र सभापति देउवा समूह मुख्य रूपमा पार्टीभित्र बलियो स्थितिमा रहेको बताइए पनि त्यसभित्र पनि थुप्रै उपगुट जन्मिएको छ । खुमबहादुर खड्काले देउवालाई काउन्टर दिन र आफ्नो प्रभावमा राखिराख्न छुट्टै उपगुट निर्माण गरेका छन् । सो समूहले देउवासँग निरन्तर बार्गेनिङको काम गर्दै आएको देउवानिकट नेताहरू बताउँछन् । यस्तै, वरिष्ठ नेता पौडेल समूहभित्र पनि प्रकाशमान सिंहको आफ्नै खेमा रहेको छ । पौडेल समूहमा कोइराला परिवारको पनि अर्कै खेमा रहेको छ भने अन्य पनि आधा दर्जन नेता आ–आफ्नै ढंगले उपगुट निर्माण गरिरहेका छन् ।


१३औं महाधिवेशनपछि पार्टीभित्र आफ्नो शक्ति देखाउन लागिपरेका कृष्ण सिटौला पक्ष पनि संस्थागत रूपमा निकै बलियो हुँदै गएको छ । सिटौला समूहले महाधिवेशनमा महŒवपूर्ण पद प्राप्त गर्न नसके पनि त्यसपछि भएका भ्रातृ संगठनहरूको निर्वाचनमा चित्तबुझ्दो स्थान प्राप्त गर्दै आइरहेको छ । राजनीतिक विश्लेषक शंकर तिवारी विश्वको इतिहासलाई हेर्ने हो भने गुटलाई नकारात्मक ढंगले हेरेर निरपेक्ष धारणा राख्न नहुने बताउँछन् । ‘विचार र आस्थाका आधारमा स्वच्छ गुट पनि जन्मिएका प्रशस्त उदाहरण छन्, राजनीतिलाई सही मार्गमा ल्याउन गुट नै सफल भएका उदाहरण पनि छन्,’ उनले भने ।