तरुण दल नेतृत्वमा देउवा, पौडेल र सिटालाले यसरी भागवण्डा मिलाए, महाधिवेसन भोलिबाट

Posted on: November 11, 2016 | views: 676

२६ कार्तिक, पोखरा ।
केही जिल्लाको प्रतिनिधि विवादबीच नेपाल तरुण दलको चौथो महाधिवेशन कांग्रेसका शीर्षनेताहरुबीच पदाधिकारी भागवण्डामा सहमति भएपछि भोलिदेखि पोखरामा सुरु हुँदैछ ।

कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री सिटौलाबीच पदाधिकारी बाँडफाँड भएको हो ।

नेतृत्वको लागि पार्टी सभापति देउवा पक्ष र महामन्त्रीमा पौडेल समूह र कोषाध्यक्ष सिटौलाले लिने सहमति भएको हो । केन्द्रीय सदस्यदेखि प्रदेश संयोजक लगायतमा सबैमा त्रिपक्षीयरुपमा बाँडफाँड जारी छ ।

कांग्रेसका भातृसंस्था नेविसंघ र महिला संघका महाधिवेसनमा देउवा र सिटौलाले एउटै प्यानल बनाएर चुनावमा गएपछि पौडेल पक्ष प्यानलको उपस्थिति न्यून हुँदै गएको थियो । तरुण दलको महाधिवेसनमा भने शीर्षनेताहरु एकै ठाउँमा मिलेर मुख्य पद बाँडफाँड गरेका हुन् ।

यता, महाधिवेशन तयारी पूरा भएको मूलआयोजक समितिले जनाएको छ  । महाधिवेशनका लागि तरुण दलका पूर्वअध्यक्ष एवं रक्षामन्त्री बालकृष्ण खाँणलगायत नेता प्रकाशमान सिह, कृष्ण सिटौला, गगन थापालगायत शुक्रबार नै पोखरा आइसकेका छन् ।

त्यस्तै, तरुण दलको निर्देशक समिति लगायत तरुण दलका अन्य नेता आएका छन् ।

कांग्रेस सभापति शेरबहादुर थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला महाधिवेशनका दिन शनिबार आउने कार्यक्रम रहेको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले बताए ।

मूल आयोजक समितिले आवास, भोजन, मंच व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ भने पोखरामा विभिन्न ठाउँमा स्वागतद्धार निर्माणसँगै झण्डा फहराइएको छ ।

पोखरा प्रवेश गर्ने विजयपुर, छोरेपाटन, सिम्पानी नाकामा गरी १० वटा स्वागतद्धार निर्माण गरिएको छ । यतिखेर महाधिवेशन स्थल पोखरा सभागृह, उद्घाटन हुने चिप्लेढुंगास्थित मानवअधिकारचोक दुलहीझै सिंगारिएको छ ।

बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ ३ दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ ।

तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचना आधारमा ७५ सदस्यीय हुने जनाइएको छ । हाल कार्यसमिति ६१ जनाको छ ।

मानवअधिकारचोकमा उद्घाटन सत्र हुनुअघि पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित ¥याली निकालिने कार्यक्रम छ । बन्दसत्र  र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजक समितिका सागर गुरुङले बताए ।

उद्घाटन समारोहमा कास्की र छिमेकी जिल्लाका कांग्रेस कार्यकर्ता र तरुण युवाहरु गरी झण्डै १० हजार जनसमुदाय उतार्ने गरी तयारीमा रहेको नेपाल तरुण दल कास्कीका अध्यक्ष तथा स्थानिय व्यवस्थापन समितिका संयोजक मनोज गुरुङले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न ५० लाख रुपैया खर्च लाग्ने अनुमान आयोजकको छ ।

यता, १०१ औं गणेशमान सिह जन्मजयन्ती अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीर गणेशमानका योगदान विषयक विचार गोष्ठीमा गणेशमान पुत्र प्रकाशमानसिह र रक्षामन्त्री बालकृष्ण खाँणले सम्बोधन गरेका छन् ।

त्यस्तै सोही समूहमा सिटौला, गगन थापा र प्रदीप पौडेलले छुट्टै भेला गरेर आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।