घाईते सशस्त्र प्रहरीको हत्या गर्ने मधेशी मोर्चाका नेतासहित २८ माथि ज्यान मुद्दा

Posted on: April 30, 2016 | views: 217

२७ फागुन, जलेश्वर ।
घाईते भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई एम्बुलेन्सबाट निकालेर विभत्स हत्या गर्ने मधेशी मोर्चाका नेता सहित २८ माथि प्रहरीले ज्यान मुद्दा लगाएको छ ।

युद्धको समयमा समेत एम्बुलेन्स जस्ता उपचारका साधनमा आक्रमण नहुनेमा मधेश आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा मधेशी मोर्चाका नेताहरुकै नेतृत्वमा भएको प्रदर्शनमा विकलाई एम्बुलेन्सबाट निकालेर निर्घात कुटपीट सहित हत्या गरिएको थियो ।

यसरी हत्यामा संलग्न सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव सहित २८ जना विरुद्ध प्रशासनले मुद्दा दायर गरेको हो ।

बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले कर्तव्य ज्यान मुद्दामा २८ र एम्बुलेन्समा आगजनी सम्बन्धी मुद्दामा २५ जना विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको छ ।

गत भदौ २५ गते महोत्तरी सदरमुकाम जलेश्वरमा मधेशी मोर्चाका उग्र कार्यकर्ताले घाइते भएका असई विकलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा जिल्लाको महोत्तरी गाउँ नजिक हत्या गरेका थिए ।

जलेश्वरबाट जनकपुर ल्याउँदै गर्दा बाटोमै विक चढेको एम्बुलेन्समा आगजनी गरी उनलाई कुटीकुटी हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोग लगाउँदै प्रहरीले सद्भावना पार्टीका केन्द्रिय सहमहामन्त्री यादव, सोही पार्टीका केन्द्रिय सदस्य लक्ष्मी महतो, तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्मा, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य कौशलकुमार यादव, तमलोपा केन्द्रिय शंकरकुमार मिश्र, तराइ मधेश सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश पाण्डे, जिल्ला सदस्य मोहन ठाकुर, स्थानीय व्यवसायी प्रदीपकुमार साह र प्रमोद गामी लगायत विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

ती मध्ये व्यवसायद्वय प्रदीप र प्रमोद तथा तमलोपा जिल्ला सदस्य ठाकुरलाई यस अघि नै प्रहरीले पक्राउ गरिसकेको छ । अन्य अभियुक्त मधेशी मोर्चाका नेता तथा स्थानिय नेता कार्यकर्ता फरार रहँदै आएका छन् ।