प्रचण्डले मोदीलाई लेखेको पत्रमा 'नेपाली नागरिकता लिएका भारतीय पनि नेपालको राष्ट्रपति !'

Posted on: September 05, 2016 | views: 867

२० भदौ, काठमाडौं ।
प्रधानमन्त्री रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई भर्खर नेपाली नागरिकता लिएका अगिंकृत नागरिकले पनि नेपालको राष्ट्रपति बन्न पाउनेगरि संविधान संशोधन गर्ने प्रतिवद्धता गरेको दाबी संसदमा गरिएको छ ।

प्रचण्डले त्यतिमात्र नभएर तराईका जिल्लालाई समेटेर एक प्रदेश वा बढीमा दुई प्रदेश बनाउने आश्वासन सहित मोदीलाई लेखिएको गोप्य पत्रमा उल्लेख रहेको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल दाबी गर्नुभएको छ ।

सांसद सुवालले प्रचण्ड लेण्डुप दोर्जे बन्ने हुन् कि भन्ने चिन्ता जनतामा रहेकाले पत्र संसदमा सार्वजनिक गर्न माग समेत गरे ।

यसअघि माओवादी विद्रोहीको अध्यक्ष हुँदा सन् २००४ मा तत्कालिन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई प्रचण्डले लेखेको पत्र भारतकै प्राध्यापक एसडी मुनीले सार्वजनिक गरेको स्मरण गर्दै सुवालले अहिलेको पत्र पनि कुनै भारतीयले सार्वजनिक गर्नुपर्ने हो रु भन्दै संसदमा प्रश्न गरे ।

सांसद सुवालले भने  ‘यी सबै कुराले अहिलेका प्रधानमन्त्री लेण्डुप दोर्जे बन्ने चिन्ता जनतामा जागेको छ । उहाँले त्यसो नगर्नुहोला भन्ने आशा छ, त्यसैले पत्र सार्वजनिक गरियोस् ।’

यसअघि एमालेका सांसद हर्कबोल राईले पनि पत्र सार्बजनिक गर्न र त्यसको जवाफ प्रधानमन्त्रीले संसदमा उपस्थित भएर दिन माग गरेका थिए ।

यसैबीच सत्तारुढ नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र संसदमा सार्वजनिक गर्न माग गरेका छन् ।

संसदको विशेष समयमा बोल्दै कांग्रेस सांसद रामहरी खतिवडाले यदि प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पत्र पठाएको हो भने त्यो संसदमा सार्वजनिक हुनुपर्ने बताए ।

खतिवडाले भने, ‘पत्र पठाएको हो भने सार्बजनिक हुनुपर्छ, होइन भने राजनीतिक खपतका लागि हल्ला गर्न हुँदैन ।’

स्मरणीय छ दुई साता अघि सरकारका उपप्रधानमन्त्री रहेका विमलेन्द्र निधिले भारत भ्रमणमा प्रचण्डको पत्र बोकेर गएका थिए भने निधि भारतमा रहँदै प्रचण्डको भारत भ्रमण तय भएपछि प्रचण्डले मोदीलाई नेपालको स्वाधिनतामाथि प्रश्न उठ्नेगरि सत्ता टिकाउन पत्र लेखेको विश्वासमा सर्वत्र बिरोध भइरहेको छ । तर प्रधानमन्त्री प्रचण्डले यसको बचाउ गरेपनि पत्र सार्वजनिक गर्न भने सकेका छैनन् ।