६ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्य पुनःसंरचना गरेर आगामी चैतमा स्थानीय निर्वाचन गर्न असम्भव रहेको बताउँदै पुरानै संरचनाअनुसार चुनाव गर्नुपर्नेमा जोडदिएका छन् ।
उनले स्थानीय निकायको पुनःसंरचना कार्य निकै कठिन रहेको भन्दै पुरानै संरचनाअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिएको खबर आजको राजधानीमा छापिएको छ।
‘चैतमा गर्ने भनिएको स्थानीय चुनाव पहिलेकै संरचनाअनुसार गरौं, अर्को स्थानीयको चुनाव गर्दा गाउँपालिका र नगरपालिका मिलाएर गरौं,’ नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलालाई आइतबार राजधानीमा उद्घाटन गर्दै सत्ता साझेदार दल कांग्रेसका सभापति देउवाले भने ।
सभापति देउवाले आगामी चैतभित्रै पुनःसंरचना गरेर स्थानीय निकायको निर्वाचन गर्ने हो भने त्यसबाट झनै समस्या आउन सक्ने बताए ।‘यहाँ एउटा वडा सार्दा त यति ठूलो झगडा हुन्छ भने गाउँलाई घटाएर ५ सय ६५ बनाउन सजिलो छैन,’ देउवाले भने, ‘स्थानीय निकायको चुनाव गर्ने कि गाउँमा झगडा निम्त्याउने रु’
उनले वैज्ञानिक ढंगबाट स्थानीय निकायको पुनःसंरचना गर्नुपर्ने सुझावसमेत दिए । उनले थपे, ‘स्थानीय निकायको पुनःसंरचना गर्ने हो भने वैज्ञानिक ढंगबाट गर्नुपर्छ, यसका लागि राम्रोसँग अध्ययन हुनुपर्छ ।’
भेलामा नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले स्थानीय निकाय पुनःसंरचना आयोगले ५ सय ६५ गाउँपालिका बनाउन दिएको प्रतिवेदनको ठाडै विरोध गरेका थिए । आयोगले दिएको प्रतिवेदन कुनै पनि हालतमा मान्न नसकिने उनीहरूको भनाइ थियो ।उनीहरूले गाउँपालिका १ हजारदेखि १ हजार १ सयसम्म हुनुपर्ने सुझावसमेत दिएका छन् ।
आयोगले स्थानीय निकायको पुनःसंरचना गर्दा जनसंख्यालाई मात्र आधार बनाएको भन्दै यस्तो प्रतिवेदन अव्यावहारिक भएकोमा जोड दिएका थिए । उनीहरूले जनसंख्या र भूगोललाई आधार बनाएर पुनःसंरचना गर्नुपर्ने सुझावसमेत दिएका छन् ।