प्रचण्ड दोहोर्याएर प्रधानमन्त्री, सहज छैनन् आगामी दिनहरु

Posted on: August 03, 2016 | views: 323

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा प्रधानमन्त्री निर्वाचनको परिणाम सार्वजनिक गर्नुहुँदै सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष दाहाल बहुमतले प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको घोषणा गर्नुभयो ।

नेपाली कांग्रेस र मधेशी मोर्चा सहित संघीय गठबन्धनमा आवद्ध दल र अन्य साना दलका सांसदले प्रचण्डको पक्षमा र नेकपा एमाले, राप्रपा नेपाल र अन्य सानादलका सांसदहरुले  विपक्षमा मतदान गर्नु भएको थियो ।

यस अघि बैठकमा प्रधानमन्त्रीका पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको समस्या समाधानका लागि विना कुनै आग्रह र पुर्वाग्रह सवैसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले मधेशी आदीवासी, जनजाती, थारु दलित लगायतले उठाएका मागहरुको सम्बोधन गर्दै संविधान कार्यन्वयन सँगै राष्ट्रहितको काम आफ्नो मुख्य दायित्व भएको बताउनु भयो ।
                     
अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै, छिमेकिसँगको कुटनीतिक सम्बन्ध विस्तार र विकासमा विशेष ध्यान दिने बताउनु भयो ।

उहाँले यस अघिको सरकारले शुरु गरेका काममा आफ्नो पनि जिम्मेवारी रहेको भन्दै आर्थिक विकास, राष्ट्रिय महत्वको हुलाकी राजमार्ग, फाष्टट्रयाक, रेलमार्ग जस्ता वजेट मार्फत आएका सवै कामहरु हुवहु कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

अध्यक्ष प्रचण्डले वजेटको साधारण खर्च समेत राजस्वले पुरा गर्न नसक्ने र ऋण लिनु पर्ने भएकाले यो विडम्वना पूर्ण अवस्थाको अन्त्य गर्न सवै पक्षले गम्भिरता पूर्वक आत्मसमिक्षा गर्नु पर्ने भनाई पनि राख्नु भयो ।

बैठकमा प्रधानमन्त्री उम्मेद्वार प्रचण्डका प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिका आधारमा सिमांकन लगायतका विषयमा संविधान संशोधन गरेर भएपनि समस्या समाधान गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।

सभापति देउवाले प्रजातान्त्रिक अभ्यासमा शान्तीपूर्ण रुपमा सरकार परिवर्तन हुनु प्रजातन्त्रको सुरन्दर पक्ष भएकाले अविश्वासको प्रस्तावलाई पनि सहज रुपमा लिनु पर्ने बताउनु भयो ।      

सभापति देउवाले भारत र चिन दुवै देशसँग सम्बन्ध राष्ट्रहितका लागि आवश्यक रहेको भन्दै दुवै छिमेकीसगँ सुमधुर कुटनीतिक सम्बन्ध कायम गर्नु आवश्यक रहेको बताउनु भयो ।

यसैगरी प्रधानमन्त्री प्रस्तावकका अर्का समर्थक नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले स्थानिय निकाय, प्रदेश र केन्द्रीय चुनाव गराएर संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाको वाँकी काम पुरा गर्न र देशलाई आर्थिक सवृद्धिमा पु¥याउन प्रधानमन्त्रीका उम्मेद्वार प्रचण्ड उपयुक्त पात्र भएको बताउनु भएको थियो ।

अर्का समर्थक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी, थारु, आदीवासी, जनजाती सवैका मुद्धा सम्बोधका लागि संविधान संशोधन गर्नु आवश्यक रहेको बताउनु भयो ।                

यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले जनताको माग पुरा गर्न अध्यक्ष प्रचण्ड सक्षम व्यक्ति रहेको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुरामा तामाङ, नेकपा संयुक्तका जयदेब जोशीले, संघीय लोकतान्त्रिक मञ्च थरुहटकी रुक्मीणी चौधरी र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मधेशी तथा आदिवासी जनजातीले उठाएका मागलाई सम्बोधन गरेर सवैलाई मिलाएर लैजान अध्यक्ष प्रचण्ड सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी नेपाली जनता दलका हरिचरण शाह, खम्बुवान राष्ट्रिय मोर्चा पार्टीका रामकुमार राई, अखण्ड नेपाल पार्टीका कुमार खड्क, जनजागरण पार्टीका लोकमणी ढकाल, दलित जनजाती पार्टी नेपालकी यसोदा कुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले अध्यक्ष दाहालले असन्तुष्ट सवैको माग सम्बोधन गर्ने सम्झौता गर्नु भएकाले समर्थन गरेको बताउनु भयो ।


दोहोराएर कार्यकारी प्रमुखमा दाहाल, सहज छैनन् आगामी दिनहरु


नव निर्वाचित प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिनुभयो ।

विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी २०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गर्नुभयो । २०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नु भई एमपीएको समेत अध्ययन गर्नुभएको दाहाल आफूलाई दाहालको नाममा चिनाउन चाहनुहुन्छ ।

कक्षा १० मा पढ्दा पिताले राखिदिएको छविलाल हुँदै पुष्पकमल, कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामबाट राजनीतिका खुला मोर्चा हुन् वा भूमिगत काल नै किन नहोस् परिचित हुनुहुन्छ ।

दश वर्षे जनयुद्धलाई शान्ति प्रक्रियाको माध्यमबाट सहजरुपमा अवतरण गराउनु भएका दाहाल कुनै समय स्वदेशी तथा विदेशी एवम् स्वयम् पार्टी कार्यकर्तालाई समेत एउटा मिथक जस्तो नाम थियो । धेरै मान्छेलाई पत्यार नलाग्ने त्यही मान्छे आज दोस्रोपटक मुलुकको कार्यकारी प्रमुख बन्न सफल हुनु भएको छ ।

विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँ सर्नुभएका दाहालको २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो ।  उहाँका तीन छोरी र एका छोरा हुनुहुन्छ ।

नारायणी विद्या मन्दिर मावि शिवनगर, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट गोरखामा २०३३ देखि २०३५ सालसम्म अध्यापन गरी २०३२ सालमा युएसएडमा समेत केही समय सेवा गर्नुुभएको थियो ।

विसं २०२८ मा नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका अध्यक्ष दाहालले रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको 
थियो ।

विसं २०३४ मा तत्कालीन चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा क्रियाशील हुनुभयो । २०३६ सालमा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य एवम् अखिल नेपाल युवक सङ्घको महासचिव भई २०४० सालमा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा 'मसाल' को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई २०४२ मा पोलिटब्युरो सदस्य हुनुभएका अध्यक्ष दाहाल सेक्टर काण्डपछि पार्टीको महामन्त्रीमा निर्वाचित हुनुभयो ।

तत्कालीन अध्यक्ष मोहन वैद्यको सिफारिसमा अध्यक्ष दाहाल पार्टीको कार्यकारी पदमा निर्वाचित हुनुभएको थियो । २०४६ सालपछि पार्टीको सर्वोच्च निकायमा रहेका काम गर्दै आउनुभएका अध्यक्ष दाहाल २०५१ मा तत्कालीन नेकपा ९एकता केन्द्र०को नाम परिवर्तन गरी नेकपा 'माओवादी' स्थापना गरी २०५२ फागुन १ बाट सशस्त्र जनयुद्धको नेतृत्व गर्नुभयो ।